१७ पुष २०८२, बिहीबार | Thu Jan 1 2026

जेनजी आन्दोलनको बीमा दाबीबापत् साढे ५ अर्ब भुक्तानी

१७ पुस, काठमाडाैं । जेनजी आन्दोलनको क्रममा भएको क्षतिको बीमा दाबीमा अहिलेसम्म साढे ५ अर्ब रुपैयाँ बराबरकाे भुक्तानी भएकाे छ ।  । नेपाल बीमा प्राधिकरणका अनुसार पछिल्लो अद्यावधिक तथ्यांक अनुसार ३ हजार ३ सय १६ वटा आवेदनबाट २३ अर्ब ४७ करोड बीमा दाबी परेकोमा अग्रिम भुक्तानी समेत गरेर बीमा कम्पनीहरुले ५ अर्ब ४८ करोड २५ लाख रुपैयाँ भुक्तानी गरेका छन् ।

प्राधिकरणमा १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्याङ्क अनुसार, कम्पनीहरूबाट अग्रिम भुक्तानी समेत गरी भुक्तानी भएको कुल दाबी रकममध्ये सम्पत्ति बीमातर्फ कुल ७१२ वटा बीमा दाबीको दाबी रकम करिव १९ अर्ब ५ करोडमध्ये करिव ३ अर्ब ९३ करोड ५९ लाख रुपैयाँ र मोटर बीमातर्फ कुल २ हजार ३२१ वटा बीमा दाबीको दाबी रकम करिव ३ अर्ब ४६ करोड १६ लाखमध्ये करिव १ अर्ब ३९ करोड २५ लाख रुपैयाँ भुक्तानी भएको छ ।

यसैगरी, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ कूल २२६ वटा बीमा दाबीको करिव ५५ करोड ३९ लाख रुपैयाँ दाबी रकममध्ये करिव ८ करोड ३६ लाख रुपैयाँ, परिवहन बीमातर्फ कूल १२ वटा बीमा दाबीको करिव १ करोड ६९ लाख रुपैयाँ दाबी रकममध्ये करिव १ करोड ५५ लाख रुपैयाँ र अन्य बीमातर्फ कूल ४५ वटा बीमा दाबीको करिव ३८ करोड ४० लाख रुपैयाँ दाबी रकममध्ये करिव ५ करोड रुपैयाँ अग्रिम भुक्तानी समेत गरी दाबी रकम भुक्तानी भएको छ ।

जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई ३ अर्ब २ करोड रुपैयाँ अग्रिम भुक्तानी सहित पुनर्बीमा दाबी भुक्तानी गरेको छ ।

नेपाल पुनर्बीमा कम्पनीमा विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनीहरूबाट परेका कुल २ हजार ८६३ वटा पुनर्बीमा दाबीको कुल पुनर्बीमा दाबी रकम करिव १६ अर्ब ६२ करोड ६६ लाख रुपैयाँ रहेको अद्यावधिक तथ्याङ्क कम्पनीबाट प्राप्त भएको छ ।

प्रकाशित मिति : १७ पुष २०८२, बिहीबार १६:४०