तीन राजनीतिक दलले बुझाए समानुपातिकको बन्द सूची
१३ पुस, काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्न सुरु भएको छ ।
निर्वाचन आयोगले जारी गरेको कार्यतालिकाअनुसार आज र सोमबार समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यक्रम तोकिएकामा केही राजनीतिक दलले आजै सूची पेस गरेका छन् । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आज दिउँसोसम्म तीन दलका १३४ जनाले सबै प्रक्रिया पूरा गरेर बन्द सूची पेस गरिसकेका छन् । ती दलले निस्सा लिएर दर्ताको प्रक्रिया पूरा गरेका हुन् । उम्मेदवारको नाम मतदाता सूचीमा छ, छैन हेरेर आयोगले निस्सा दिएपछि बन्द सूची पेस गरिएको हो ।
यस आधारमा नेपाल मजदुर किसान पार्टी, जनप्रिय लोकतान्त्रिक पार्टी, श्रम संस्कृति पार्टीलगायतले आज दिउँसोसम्म बन्द सूची पेस गरेका प्रवक्ता भट्टराईले जानकारी दिनुभयो । उहाँले राजनीतिक दलले पुस १३ र १४ गतेसम्म पेस गरेका समानुपातिकतर्फको बन्द सूचीबारे पुस १५ देखि २० गतेसम्म छानबिन गरिने कार्यक्रम रहेको बताउनुभयो ।
त्यसपछि पुस २१ देखि २७ गतेसम्म दललाई मिलाउन लगाउने कार्यतालिका छ । पुस २८ देखि माघ ३ गतेसम्म दलले मिलाएको बन्द सूची ठीक छ वा छैन भनी हेरिने आयोगले जनाएको छ । माघ ४ गते बन्द सूची र माघ २० गते अन्तिम सूची प्रकाशन गर्ने कार्यतालिका रहेको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।
यसअघि एक सय वटा राजनीतिक दलले ९३ चिह्नमार्फत समानुपातिक प्रणालीतर्फको निर्वाचनमा सहभागी हुन दल दर्ता गराएका छन् । यसरी दर्ता भएका राजनीतिक दलले मात्र सोमबारसम्म बन्द सूचीतर्फका उम्मेदवारको सूची पेस गर्न पाउने छन् । साना दलले आज समानुपातिकतर्फको बन्द सूची दर्ता गराए पनि ठूला दल भने अझै बैठकमै व्यस्त छन् ।
सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्य निर्वाचन तोकेको छ । यसपटक एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता रहेका छन् । ती मतदाताले समानुपातिक र प्रत्यक्षको दुईवटा मतपत्रमा मतदान गर्न पाउँछन् ।
प्रकाशित मिति : १३ पुष २०८२, आईतवार १८:२९












