१३ पुष २०८२, आईतवार | Sun Dec 28 2025

४७ अंकले बढ्यो शेयर बजार, ५ अर्ब ५३ करोडको कारोबार

१३ पुस, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक ४७ दशमलव ५५ अंकले बढेर दुई हजार ६३३ दशमलव ४२ को बिन्दुमा कायम भएको हो ।

आज विभिन्न ३२८ कम्पनीका एक करोड ३४ लाख ६७ हजार १४५ कित्ता शेयर ८९ हजार २५१ पटक खरिदबिक्री हुँदा रू ५ अर्ब ५३ करोड १३ लाख ७० हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । विकास बैंक, लघुवित्त र अन्य समूहको उपसूचकमा दुई प्रतिशतभन्दा माथिको वृद्धि देखिएको छ ।

मिड सोलु हाइड्रोपावर लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै ९ दशमलव ४९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै युनियन हाइड्रोपावर लिमिटेडको रू २७ करोड ६० लाख ३५ हजार १९३ बराबरको पाँच लाख ५४ हजार ९२१ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : १३ पुष २०८२, आईतवार १६:१३