१३ पुष २०८२, आईतवार | Sun Dec 28 2025

बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार, यस्तो छ रास्वपासँग भएको सात बुँदे सहमति

१३ पुस, काठमाडाैँ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) भावी प्रधानमन्त्री बन्ने गरी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग सात बुँदे सहमतिमा हस्ताक्षर भएको छ । आइतबार बिहान बालेन र रविले सहमतिमा हस्ताक्षर गर्नुभएको छ ।

आइतबार बिहान ४:१५ बजे एकताको सहमति हस्ताक्षर भएको छ । बृहत् एकतापछि स्थापित हुने राजनीतिक दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहनेछ। पार्टीको झण्डा साविककै निलो पृष्ठभूमिमा सेतो गोलाकारभित्र निलो रङ्गको घण्टी रहने र चुनाव चिन्ह पनि ‘घण्टी’ नै कायम हुने सहमति भएको छ। पार्टीको केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने जनाइएको छ।

सहमतिमा भदाै २३ र २४ मा भएको जेन–जी आन्दोलनसहित विभिन्न कालखण्डका जनआन्दोलनमा शहीद तथा घाइतेले गरेको बलिदानलाई प्रेरणाका रूपमा आत्मसात गर्दै समान अठोट बोकेका परिवर्तनकामी शक्तिहरूको सहकार्यमार्फत राष्ट्रसेवाको साझा लक्ष्य हासिल गर्ने प्रतिबद्धता जनाइएको छ ।

सहमति अनुसार नवयुवाहरूले भ्रष्टाचार र कुशासनविरुद्ध सञ्चालन गरेको आन्दोलनको अपनत्व लिँदै घाइते तथा शहीद परिवारका मागहरू यथोचित रूपमा सम्बोधन गरिनेछ । साथै, गहिरा नीतिगत, संस्थागत तथा संरचनात्मक सुधारमार्फत आर्थिक–सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा आगामी १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम–आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमानदार कार्यान्वयनमा समर्पित रहने उल्लेख छ।

यस्तो छ सहमति पत्र

प्रकाशित मिति : १३ पुष २०८२, आईतवार ०६:०५