११ पुष २०८२, शुक्रबार | Fri Dec 26 2025

विष्णु रिमालले तीन महिनापछि खोले जेन्जीले ‘इग्नोर’ गरेको कुरा

११ पुस, काठमाडाैँ । नेकपा (एमाले)का नेता एवं प्रधानमन्त्री कुर्सी छाडेर ज्यान जोगाउन नेपाली सेनाको हेलिकप्टर चढेर बालुवाटारबाट भागेका केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमालले जेन्जी प्रदर्शनको तीन महिनापछि समयले जवाफ दिनेभन्दै सम्झौता र सहमति गर्ने कुरामा जेन्जीले ‘इग्नोर’ गरेको खुलासा गर्नुभएको छ ।

फेसबुक प्लेटफर्ममा पार्टी निर्माणको इतिहास सम्झना गर्दै रिमालले यसको खुलासा गर्नुभएको हो । उहाँले भन्नुभएको छ, ‘नेकपा (माले) स्थापनामा प्रत्यक्ष वा परोक्ष रूपमा संलग्न सबैप्रति आदरभाव प्रकट गर्दै आज म एउटा प्रसङ्ग मात्र जोड्न चाहन्छु—स्वतःस्फूर्त बाहेक, पार्टीले गरेको होस् वा युवा/विद्यार्थी वा मजदुर सङ्गठनले, सबै आन्दोलन सत्तामा रहेका र विरोधमा उत्रिएका बीच भएका सम्झौताबाट टुङ्गिएका छन् । गरिएका सम्झौताबाट आगामी राजनीतिको गोरेटो कोरिएका छन् । यसै सन्दर्भमा गत भदौ २३–२४ को “जेन्जी पुस्ताको प्रदर्शन” र त्यसको “हाइज्याक” पछि सिर्जित हिंसा, त्यसको भोलिपल्ट भएको “आतङ्कवादी” शैलीको राष्ट्रिय सम्पदा, राज्यका भाइटल इन्स्टलेसन, व्यवसाय, पार्टी कार्यालय र व्यक्तिका निजी आवासमाथिको हमला, तथा सत्ता–पलटका घटनापछि घरिघरी मनमा आइरहन्छ–––साना वा ठूला सबै “प्रदर्शन–आन्दोलन–विद्रोह वा क्रान्ति” अन्ततः जानेले कसरी जाने र आउनेले कसरी शासन गर्ने भन्ने सम्मका रोडम्यापसहित तत्कालिन सरकारसँग ठोस सम्झौता गरेरै टुङ्गिएका छन्, तर त्यो “जेन्जी प्रदर्शन” रोक्दा तत्कालीन सरकारसँग चाहिँ सहमति/सम्झौताको सट्टा ‘इग्नोर’को नीति किन लिईएछ ?’

इतिहासमा आजको दिन—
पुस ११ अर्थात् २६ डिसेम्बर!
पार्टीहरू खुल्ने र बन्द हुने शृङ्खला जारी छ ।
आजभन्दा ४७ वर्षअघि आजकै दिन (पुस ११ / २६ डिसेम्बर) स्थापना भएको पार्टी—तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) को सन्दर्भ स्मरण भइरहेकै छ ।
त्यो पार्टी आजको एमाले हो।

हामीले पढेका थियौँ—नेपालमा मात्र होइन, पूर्वी एसियाका कतिपय मुलुकमा कम्युनिस्ट पार्टी बन्ने, टुक्रिने, र एकले अर्कालाई दक्षिणपन्थी वा गैर–मार्क्सवादी भन्दै आफूलाई मात्र “सच्चा” ठान्ने प्रवृत्ति थियो । हामी ‘विलो एइटिन’ का नवयुवाहरूलाई नेताहरू सुनाउनुहुन्थ्यो—कोरियामा त राख्ने नामसमेत सकिएर आइतबारे, सोमबारे, बुधबारे … कम्युनिस्ट पार्टीहरू बनेका थिए ।

त्यस्तो विश्व परिस्थितिमा दर्जनौँ स–साना तर लडाकू चरित्र बोकेका समूहहरूलाई मिलाएर नेकपा (माले) गठन गरिएको थियो । थाहा पाउने हैसियत राख्नेका लागि मात्रै हैन, पछि थाहा पाउनेहरूका लागि पनि मालेको स्थापना आफैंमा ऐतिहासिक घटना थियो ।

मालेको गठनसँगै ०३५/३६ को विद्यार्थी आन्दोलन अघि बढ्यो । पार्टी पछि बसेर अघि बढाइएका विद्यार्थीहरूको आन्दोलनले २ दशकदेखि निरङ्कुश राजतन्त्रको हुकुममा चलिरहेको निर्दलीय पञ्चायती व्यवस्थालाई “जनमत सङ्ग्रह” को कठघरामा उभ्याएको थियो । झापा विद्रोहका कारण जेलमा रहेका राजबन्दीहरू मालेका प्रेरणा थिए भने जेलबाहिर रहेका, त्यसबेलासम्म “अदृश्य” क्रान्तिकारीहरु, आन्दोलनका नेता थिए ।

नेकपा (माले) स्थापनामा प्रत्यक्ष वा परोक्ष रूपमा संलग्न सबैप्रति आदरभाव प्रकट गर्दै आज म एउटा प्रसङ्ग मात्र जोड्न चाहन्छु—स्वतःस्फूर्त बाहेक, पार्टीले गरेको होस् वा युवा/विद्यार्थी वा मजदुर सङ्गठनले, सबै आन्दोलन सत्तामा रहेका र विरोधमा उत्रिएका बीच भएका सम्झौताबाट टुङ्गिएका छन् । गरिएका सम्झौताबाट आगामी राजनीतिको गोरेटो कोरिएका छन् ।
यसै सन्दर्भमा गत भदौ २३–२४ को “जेन्जी पुस्ताको प्रदर्शन” र त्यसको “हाइज्याक” पछि सिर्जित हिंसा, त्यसको भोलिपल्ट भएको “आतङ्कवादी” शैलीको राष्ट्रिय सम्पदा, राज्यका भाइटल इन्स्टलेसन, व्यवसाय, पार्टी कार्यालय र व्यक्तिका निजी आवासमाथिको हमला, तथा सत्ता–पलटका घटनापछि घरिघरी मनमा आइरहन्छ–––साना वा ठूला सबै “प्रदर्शन–आन्दोलन–विद्रोह वा क्रान्ति” अन्ततः जानेले कसरी जाने र आउनेले कसरी शासन गर्ने भन्ने सम्मका रोडम्यापसहित तत्कालिन सरकारसँग ठोस सम्झौता गरेरै टुङ्गिएका छन्, तर त्यो “जेन्जी प्रदर्शन” रोक्दा तत्कालीन सरकारसँग चाहिँ सहमति/सम्झौताको सट्टा ‘इग्नोर’को नीति किन लिईएछ ? यसको जवाफ समय आफैंले दिने छ ।

प्रकाशित मिति : ११ पुष २०८२, शुक्रबार ११:४७