१० पुष २०८२, बिहीबार | Thu Dec 25 2025

बालेनलक्षित ओलीको टिप्पणीः ‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’

१० पुस, काठमाडाैँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहलाई लक्षित गर्दै देशमा चर्चित भनिएका मान्छेहरु नसामा लट्ठिएको अवस्थामा भेटिने गरेको टिप्पणी गर्नुभएको छ ।

पार्टीको ११ औँ महाधिवेशनका स्वयंसेवकहरुलाई धन्यावाद ज्ञापन गर्न बिहीवार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो टिप्पणी गर्नुभएको हो ।

जसलाई बेस्सरी चर्चामा ल्याउन खोजिएको छ त्यस्ता मान्छेहरु समेत नसामा भेटिने गरेको ओलीको भनाइ छ । उहाँले युवाहरुले ठिक ढंगले कुरा नबुझ्नु, ठिक आचरण गर्न नसक्नु र ठिक ढंगले आफूलाई प्रस्तुत गर्न नसक्नु मुलुककै लागि समस्याको विषय भएको बताउनुभयो । ओलीले एमालेमा आवद्ध युवाहरु यस्तो दुव्र्यसनीमा नरहेको समेत जिकिर गर्नुभयो । उहाँले पार्टीको ११ औँ महाधिवेशनमा स्वयंमसेवकको कार्यमा खटिएका युवाहरुको कार्यसम्पदानको प्रशंसा गर्दै धन्यावाद ज्ञापन गर्नुभयो ।

ओलीले भन्नुभयो, ‘आजको दिनमा युवाहरुले ठिक कुरा बुझ्नु, ठिक आचरण गर्नु र ठिक ढंगले आफूलाई प्रस्तुत गर्नु देशकै समस्या भएको छ ।

ओलीले भन्नुभयो, ‘हाम्रा युवाहरुमा त्यस्तो कुनै दुव्यसन देखिएन । मेरो इख मानेर दुव्र्यसनमा भएकाहरुले छोड्नुभयो भने म धेरै खुसी हुन्छु । यदि कसैले भोलिन्टियरको नियम पालना गरेको छैन भने त्यस्तो अवस्थामा कारबाही हुन्छ भनेका थियौँ । कोही नियमबाहिर गएको भए कारबाही भएको होला । तर कोही पनि बाहिर गएको छैन । कसैका लागि भोट समेत मागेको छैन ।’

ओलीले मुलुकको स्वाधिनताको रक्षाका लागि एकतावद्ध भएर अगाडि बढ्न पार्टी कार्यकर्ताहरुलाई आग्रह समेत गरे ।

प्रकाशित मिति : १० पुष २०८२, बिहीबार १४:४२