१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीबीच चुनावी एकता

९ पुस, काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीबीच औपचारिक रूपमा चुनावी एकताको घोषणा गरिएको छ ।

आज यहाँ आयोजित संयुक्त पत्रकार सम्मेलनमार्फत दुवै पार्टीका शीर्ष नेतृत्वले चुनावी एकता घोषणापत्रमा हस्ताक्षर गर्दै संयुक्त रूपमा निर्वाचनमा सहभागी हुने प्रतिबद्धता जनाउनुभएको हो ।

उक्त पत्रकार सम्मेलनमा उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुप उपाध्याय र सर्वोदय पार्टीका अध्यक्ष दीपक साहले संयुक्त रूपमा चुनावी एकता घोषणापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

दुई पार्टीबीच भएको सहमतिअनुसार सर्वोदय पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनमा उज्यालो नेपाल पार्टीको चुनाव चिन्ह ‘बलेको चिम’ प्रयोग गर्ने, साझा चुनावी घोषणापत्र निर्माण गर्ने तथा चुनावी प्रक्रियामा उत्पन्न हुनसक्ने विवाद समाधानका लागि संयुक्त संयन्त्र गठन गर्ने उल्लेख गरिएको छ ।

उज्यालो नेपाल पार्टीका अध्यक्ष उपाध्यायले वर्तमान देशको जटिल राजनीतिक अवस्था, अस्थिरता र जनतामा बढ्दो निराशाबाट निकास खोज्ने उद्देश्यले औपचारिक चुनावी एकता घोषणा गरिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “देशलाई स्थिरता, सुशासन र जवाफदेही राजनीतिक संस्कृतितर्फ डो¥याउन समान सोच र लक्ष्य भएका शक्तिहरूबीच एकता अपरिहार्य भएको छ ।”

यसैगरी सर्वोदय पार्टीका अध्यक्ष दीपक साहले ‘जेनजी आन्दोलन’ को भावना, चेतना र मागलाई व्यवहारमा रूपान्तरण गर्दै नयाँ राजनीतिक संस्कृतिको निर्माण गर्ने लक्ष्यसहित एकीकृत मोर्चाबाट चुनावमा जाने निर्णय गरिएको बताउनुभयो ।

प्रकाशित मिति : December 24, 2025 at 9:28 pm