५ पुष २०८२, शनिबार | Sat Dec 20 2025

-कमला ज्ञवाली

लेखको सार : यस लेखले शिक्षाको मूल उद्देश्य विषयगत ज्ञानभन्दा पनि आत्मज्ञान र स्वजागरण हुनुपर्छ भन्ने मान्यता प्रस्तुत गर्छ। वास्तविक शिक्षा भनेको आफूलाई चिन्नु हो किनकि हरेक व्यक्तिभित्र खुसी, शान्ति, आनन्द, आरोग्य र अन्तरनिहित प्रतिभा रहेको हुन्छ । यसलाई शिक्षाले जागृत गराउनुपर्छ। बाह्य धनसम्पत्ति, पदप्रतिष्ठाले यी मूल्य दिन सक्दैनन् । आत्मज्ञानबिनाको विषयगत ज्ञान प्रभावकारी हुन नसक्ने भएकाले वर्तमान शिक्षा प्रणालीले खुसी, शान्ति र आनन्द दिन नसकेको लेखमा उल्लेख छ। राष्ट्रको समृद्धि व्यक्तिको स्वजागरणसँग जोडिएको हुन्छ। समस्या बाहिर होइन, मानिसको सोच र चेतनामा छ र समाधान पनि आफैँभित्रै छ। परिवर्तन सानो कामबाट, आफूबाट सुरु गर्नुपर्छ। स्वजागरण भएको व्यक्तिमा इमानदारी, नैतिकता, अनुशासन, आत्मविश्वास र सत्यनिष्ठा विकसित हुन्छन्, जुन देश विकासका आधारस्तम्भ हुन्। त्यसैले शिक्षाको मूल्याङ्कन GPA मात्र होइन, खुसी, शान्ति, आनन्द र आरोग्यका आधारमा हुनुपर्छ। लेखले शिक्षा क्षेत्रमा सरोकारवालाको भूमिकालाई स्पष्ट गरेको छ। अभिभावकले गर्भ अवस्थादेखि नै संस्कारयुक्त वातावरण दिनुपर्छ। विद्यालयमा शिक्षक स्वयम् स्वजागृत, खुसी र प्रेरित हुनुपर्छ । प्रारम्भिक बालविकासमा पाठ्यपुस्तकभन्दा जीवन सिप, संस्कार र समग्र विकासमा जोड दिनुपर्छ । स्थानीय सरकारले नीतिगत र संस्थागत सुधार गर्दै शिक्षक उत्प्रेरणामा भूमिका खेल्नुपर्छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आत्मज्ञान र सिपमुखी शिक्षामा केन्द्रित नीति, पाठ्यक्रम र तालिम विकास गरी विद्यालयलाई रोजगारी र समृद्धिको केन्द्र बनाउनुपर्छ। लेखले शिक्षा खुसी, आत्मदीप्ति, शान्ति र सकारात्मक ऊर्जाका लागि हुनुपर्छ भन्ने निष्कर्ष निकाल्दै ‘संस्कार र सिपयुक्त शिक्षा’ मार्फत स्वजागरणलाई अबको शिक्षाको गन्तव्य बनाउनु अपरिहार्य रहेको निष्कर्ष प्रस्तुत गरेको छ।

१. मेरो सोच
भगवान गौतम वुद्धको भनाइमा स्वयम्‌लाई चिन्नु वास्तविक शिक्षा हो । भगवान गौतम वुद्द्ध स्वयंलाइ चनेको र स्वजागृत भएको ब्यक्ति हो कुनै ‌औपचारिक शिक्षा र र GPA प्राप्त ब्यक्ति होइन । हरेक व्यक्तिभित्र अन्तरनिहित प्रतिभा/जीवन ऊर्जा रहेको हुन्छ । त्यो जीवन ऊर्जालाई जगाउने काम मात्र शिक्षाको हो । हरेक व्यक्ति स्वयम्‌ आफैँबाट जाग्यो भने मात्र राष्ट्र जाग्छ, समृद्धि हुन्छ । हरेक व्यक्तिमा खुसी, शान्ति, आनन्द, आरोग्य छ तर प्रस्फुटन हुन सकेको छैन । त्यसैले व्यक्तिले ती चिज पैसा, धन, सामग्री, पद, प्रतिष्ठा, इज्जत र बाहिरी संसारमा खोजिरहेको छ तर प्रकृतिमा त्यस्तो छैन । धनले स्वास्थ्य, खुसी, शान्ति र आन्नद खरिद गर्न सक्दैन । हरेक व्यक्ति आफूभित्रबाटै जागृत हुनुपर्छ । त्यो जागृति शिक्षाबाट मात्र सम्भव छ । हामीकहाँ विषयगत ज्ञानको कमी होइन आत्मज्ञानको कमी छ । म को हुँ, मेरो जिम्वेवारी के हो, मेरो कर्तव्य के हो, मेरो क्षमता के हो र सत्य के हो भन्ने प्रश्नको जवाफ स्वयम्‌ले दिन सक्नु नै आत्मज्ञान हो । आत्मज्ञानबिनाको विषयगत ज्ञान कामयावी हुन सक्दैन । वर्तमान परिस्थितिलाई हेर्ने हो भने शिक्षाले खुसी, शान्ति,आनन्द र आरोग्य दिन नसकेको प्रस्ट देखिन्छ । कुनै पनि देशको विकास हुन शिक्षा राम्रो हुनुपर्छ । विकसित देशमा शिक्षाले व्यक्तिलाई स्वजागरण गराउन सकेको देखिन्छ । विकसित राष्ट्रमा व्यक्तिको सकारात्मक सोच, उच्च मनोबल/ आत्मबल, साहस, लगनशीलता, अनुशासनबाट यो कुरा प्रस्ट हुन्छ । जीवनलाई सुगन्धित बनाउन तीन कुरा भन्न सक्नुपर्छः धन्यवाद, क्षमा, मलाई थाहा छैन । यी तीन चिजले मानिसलाई अन्तरात्मादेखि खुसी, शान्ति,आनन्द र आरोग्यता प्रदान गर्छन् । जीवनमा सत्य, निष्ठा, नैतिकता र इमानदारीलाई बढाउँछन् । अहिले हाम्रो मुलुकमा हुनुपर्ने काम भइरहेको छैन भने नहुनुपर्ने काम नै धेरै हुनुमा शिक्षाले स्वजागरण गराउन नसक्नु हो भन्ने मेरो २२ वर्षको शिक्षा क्षेत्रको अनुभवले भनिरहेको छ।

२. वास्तविकता
हामीकहाँ हेराइ (Hardware) भन्दा सोचाइ (Software) मा समस्या छ । आफूमा समस्या छ र समाधान पनि आफूभित्र नै छ । बाहिरै समस्या देख्ने र बाहिरबाटै समाधान खोजेको कारण सुधार नभएको हो । ठुलो काम गर्न खोजियो भने गर्न सकिँदैन । ससानो कामबाट सुधार गरियो भने देश विकसित र समृद्ध हुन कतिबेर लाग्दैन । परिवर्तन आफूबाट सुरु गर्नुपर्छ तब मात्र वास्तविक परिवर्तन हुन्छ । परिवर्तनको सुधार आफैँबाट सुरु गर्नुपर्छ । आफू बदलिएर देखाउनेले संसार बदलेका छन् । अरुलाई बदल्न खोज्ने डिप्रेसनको सिकार बनेका छन् । आफू जागृत भएको व्यक्तिमा रिस, लोभ, ईर्ष्या, घृणा हुँदैन, हुन्छ त केवल इमानदारी, नैतिकता, अनुशासन, आत्मविश्वास, लगनशीलता, सत्य, निष्ठा जुन देश विकासका लागि आवश्यक स्तम्भ हुन् । त्यसैले शिक्षामा स्वजागरणको पहिलो आवश्यकता खुसी, शान्ति,आनन्द र आरोग्यक हो, सिकाइ उपलब्धिको औसत प्राप्ति (GPA) मात्र हैन । स्वजागरणले मात्र सिकाइ उपलब्धि राम्रो हुन्छ । सर्वप्रथम शिक्षक खुसी हुनुपर्छ, जसले जे बाढ्यौँ त्यही पाइन्छ । शिक्षक खुसी नभई विद्यार्थीलाई खुसी बनाउन सकिँदैन । त्यसैले धन आर्जन हैन, ध्यान आर्जन गर्न सिकाउनुपर्छ । सम्पत्ति जोड्न हैन, असल संस्कार र सम्बन्ध जोड्न सिकाउनुपर्छ । अहिले शरिरका भन्दा मनमा, मनमा भन्दा भावनामा र भावनामा भन्दा गहिरो समस्या चेतना/आत्मामा देखिन्छ । शरीरले स्वास्थ्य, मनले खुसी, भावनाले शान्ति र चेतनाले आनन्द खोज्छ । शरीरका लागि व्यायाम, मनका लागि प्राणायाम, भावनाका लागि सत्सङ, भक्ति, भजन/सङ्कीर्तन,समर्पण र चेतनाका लागि ध्यान आवश्यक पर्छ । यसले स्वयम्‌लाई चिन्न मद्दत गर्छ । आजको आवश्यकता स्वयम्‌को शिक्षामा स्वजागरण हो । मानिस खुसीका लागि औषधी प्रयोग गरिरहेका हुन्छन् । औषधी भनेको दवाई हो जसले स्वास्थ्यलाई दबाउँछ र नयाँ स्वास्थ्य समस्या जन्माउँछ । प्रकृतिमा अद्भुत नियम छ । चौरासी व्यजन बनाउन सकिन्छ तर भोक किन्न सकिँदैन । महँगो बिस्तरा बनाउन सकिन्छ तर निद्रा किन्न सकिँदैन । त्यसैले भौतिक चिजवस्तुभन्दा अभौतिक, देख्न नसकिने, छुन नसकिने चिज अमूल्य छन् । यी कुरा प्राप्त गर्नु नै असली जीवन हो ।

३. जिम्मेवारी

शिक्षा खुसी, आत्मदीप्ति र सकारात्मक ऊर्जाका लागि हो । त्यसका लागि शिक्षा क्षेत्रका सरोकारवालाले निम्नलिखित भूमिका निर्वाह गर्न सक्नुपर्छः

(क) अभिभावकले के गर्ने ?
बालबालिकाको पहिलो शिक्षा आमाको गर्भबाट सुरु हुन्छ । त्यसैले गर्भ अवस्थाबाट नै बालबालिकालाई कस्तो बनाउने हो त्यसै खालको आहार, विहार, विचार पद्धति अपनाउनुपर्छ । आमा नै असल संस्कार सिकाउन सक्ने पहिलो गुरु हुन् । आमाबुबा सन्तानका लागि ऐना हुन् । आमाबुबा संस्कारी भएमात्र सन्तान संस्कारी हुन्छन् । रोगमुक्त शरीर तनावमुक्त मन र हिंसामुक्त समाज निर्माणका लागि घरपरिवारको वातावरणले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । असल सन्तानका लागि असल आमाबुबा हुनुपर्छ । जस्तो भोगाइ त्यस्तै सिकाइ हुन्छ । प्रशंसाले आत्मबलको विकास हुन्छ भने अभावमा हुर्केको बालकले हरेक कुराको मूल्य थाहा पाउन सिक्छ । त्यसैले बालबालिकालाई कस्तो बनाउने पहिलो भूमिका अभिभावकमा निर्भर रहन्छ । घरको वातावरणले सिकाइमा प्रत्यक्ष प्रभाव पार्छ । हामीले सच्चा अभिभावक बन्न सक्नुपर्छ ।भनिन्छ ८ बर्ष पुरा हुदाँसम्म बालबालिकाको ८० प्रतिशत मात्र मानसिक विकास भएको हुन्छ ।त्यसैले प्रारिम्भक बाल विकासमा लेखाउनु हुदैन हाम्रा अविभावकहरु Home work धेरै खोजिरहनु भएको छ । त्यसैले पहिलो जागरण अविभावकमा ल्याउनुपर्छ ।हस्तरेखाको पुर्ण रुपमा विकास नभइ लेखाउदा बालबालिकाहरुमा आत्मबल कमजोर, बेखुशी ,अशान्ति र आरोग्यता घट्दै जान्छ ।

(ख) विद्यालयले के गर्ने ?
बालबालिकाको दोस्रो घर विद्यालय हो । विद्यालयमा बालबालिकालाई आत्मदीप्ति गराउने दायित्व शिक्षकको हुन्छ । यसका लागि शिक्षकमा स्वजागृति हुनुपर्छ । स्वजागरण भएको शिक्षकले मात्र आफ्ना बालबालिकालाई स्वजागरण गराउन सक्छ । त्यसैले शिक्षक खुसी,शान्त,आनन्दित र आरोग्य बन्नुपर्छ । खुसी शिक्षकले मात्र खुसी बाँड्न सक्छ । अहिले शिक्षाले यी कुरा दिन सकेको देखिँदैन । शिक्षक स्वउत्प्रेरित भएको पाइँदैन । शिक्षक जस्तो हुन्छ, विद्यार्थी त्यस्तै हुन्छ । शिक्षक बालबालिकाको ऐना हुन् । संस्कारी शिक्षक भएमात्र विद्यार्थी संस्कारी बन्छ । विद्यार्थीले सबैभन्दा बढी शिक्षकले भनेका कुरामा विश्वास गर्छन् । त्यसैले सर्वप्रथम शिक्षक आफैँमा स्वजागरण हुनु जरुरी छ । शिक्षकमा सुधार नभएसम्म शिक्षामा सुधार गर्न सकिँदैन । प्रारम्भिक बालविकासमा बालबालिकालाई गृहकार्य दिनुभन्दा संस्कार सिकाउनु आवश्यक छ । उनीहरूलाई खुसी हुन, शान्त हुन, आनन्दित हुन र आरोग्य हुन सिकाउनु आवश्यक छ । यस तहमा शारीरिक, मानसिक, भावनात्मक,आध्यात्मिक विकास पूर्णरूपमा गराउने क्रियाकलाप मात्र गराउनुपर्छ । पाठ्यपुस्तक पढाउने लेखाउने होइन जीवन पढाउनुपर्छ । प्रारम्भिक बालविकासका बालबालिकालाई जीवन उर्जा जगाउन सकियो भने जीवन खुसी, शान्त, आनन्द र स्वस्थ भएर सत्य निष्ठा र इमानदारीको विकास हुन्छ । हरेक मानिस शान्त नभई देशमा क्रान्ति आउँदैन । त्यसैले सर्वप्रथम प्रारम्भिक बालविकास तथा शिक्षालाई सुधार गरौँ । समस्याको मूल केन्द्र मन हो । समस्या र समाधान त्यसमै हुन्छ । प्रत्येक व्यक्तिमा आफ्नो जीवन/भविष्य निर्माण गर्ने सामर्थ्य हुन्छ । आफूले म को हुँ भनेर नचिनेसम्म समस्या समाधान हुँदैनन् । यसर्थ विद्यालयलाई सिकाइ केन्द्र बनाऔँ ।शिक्षामा सीपलाइ जोडौं । त्यसका लागि एक विद्यालय एक उद्यम कार्यक्रमको अभियान चलाउनुपर्छ । विद्यालयलाइ परिवर्तनको केन्द्र/ रोजगार केन्द्र बनाउनुपर्छ ।भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ८ मा अवस्थित श्री महेन्द्रग्राम माविमा प्रत्येक शुक्रवार कपाल काट्ने अभियान शुरु भइसकेको छ । यो मोडेललाइ सबै विद्यालयहरुले कार्यान्वयनमा ल्याउन कोशिस गर्नुपर्छ ।

dainiki.com

(ग) स्थानीय सरकारले के गर्ने ?
सङ्घीय शासन व्यवस्थाले शिक्षाका २३ ओटा अधिकार स्थानीय सरकारलाई प्रदान गरेको छ । त्यसैले आफ्नो कार्यक्षेत्रमा शिक्षा कस्तो बनाउने र नीतिगत, कानुनी, संस्थागत, संरचनागत पक्षको विकास कसरी गर्ने भन्ने जिम्मेवारी स्थानीय सरकारको हो । स्थानीय सरकार राम्रो, समृद्ध हुन शिक्षा राम्रो हुनुपर्छ । जुन देशको शिक्षाले व्यक्तिलाई आत्मदीप्ति गर्न सक्यो त्यो देश आज विश्वको प्रथम स्थानमा रहेको छ । निष्ठा, सत्य, नैतिकता, सहचरित्रता, इमानदारीको जग स्थानीय सरकारबाट सुरु हुनुपर्छ । आआफ्नो क्षेत्रमा शिक्षकलाई उत्प्रेरित/प्रोत्साहन हुने गरी काम गर्न सकेमा मात्र सुधार सम्भव छ । ।भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ८ मा अवस्थित श्री महेन्द्रग्राम माविमा प्रत्येक शुक्रवार कपाल काट्ने अभियान शुरु भइसकेको छ । यो मोडेललाइ सबै स्थानीय सरकारहरु मार्फत् कार्यान्वयनमा ल्याउनुपर्छ ।

(घ) शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले के गर्ने ?

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय राम्रो नभएसम्म अरू मन्त्रालयका काम राम्रो हुन सक्दैनन् किनभने हरेक व्यक्तिलाई जगाउने काम यही मन्त्रालयको हो । प्रत्येक व्यक्तिमा रहेको अन्तर्निहित प्रतिभा (जीवन ऊर्जा) प्रस्फुटन नभएसम्म देशमा समृद्धि आउन सक्दैन । कुनै पनि देशको समृद्धि भनेको शिक्षाको राष्ट्रिय नीति, नियम,कानुन कार्यक्रममा भर पर्छ । सबैभन्दा उत्कृष्ट पेसा शिक्षण पेसालाई बनाउने गरी नीतिगत, कानुनी, संस्थागत, संरचनागत सुधार गर्नुपर्छ । स्रोतभन्दा सोचमा समस्या छ । अब हामीले स्वजागरणमा केन्द्रित गरेर शिक्षा परियोजना ल्याउनुपर्छ । तालिमका प्याकेजमा स्वजागरणका विषयवस्तु समेट्नुपर्छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय केन्द्रीय मन्त्रालय भएकाले यस मन्त्रालयले अनुकरणीय काम गर्नुपर्छ । विषयगत ज्ञानभन्दा आत्मज्ञानका विषयवस्तुमा केन्द्रित गरेर पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षक तालिम प्याकेज बनाई त्यसैअनुरूप शैक्षिक जनशक्ति उत्पादन गर्नुपर्छ । शिक्षालाई सिप, सिपलाई श्रम, श्रमलाई उत्पादन, उत्पादनलाई बजार, बजारलाई रोजगारी र रोजगारीलाई समृद्धिसँग जोड्नका लागि विध्यालयलाई परिवर्तनको केन्द्र बनाउनुपर्छ । सिपबिनाको शिक्षाले शैक्षिक बेरोजगारीलाई मात्र बढाउँछ त्यसैले ‘एक विद्यालयमा एक उद्यम कार्यक्रम’ को अभियानमार्फत शिक्षामा सिपलाई जोड्दै जानुपर्छ । कम्तीमा १० कक्षा पास भएर निस्कँदा एउटा सिपको क्षमता प्रत्येक बालबालिकाले पाउने गरी मन्त्रालयले काम गर्नुपर्छ । सिपबिनाको प्रमाणपत्र संसारमा बिक्दैन । विद्यालयलाई शैक्षिक बेरोजगार उत्पादन गर्ने कारखाना बनाउने होइन कि रोजगारी उत्पादन गर्ने रोजगारकेन्द्र बनाउनुपर्छ । संस्कार र सिपयुक्त शिक्षा हामी सबैको इच्छा भन्ने नारा तय गरी कार्यक्रम अगाडि बढाउनुपर्छ । विषयगतभन्दा आत्मज्ञानमा केन्द्रित भएर मन्त्रालयले बजेट, नीति, कार्यक्रम ल्याउन ढिला भइसकेको छ । ‘संस्कार र सिपयुक्त शिक्षा हामी सबैको इच्छा’ भने नारा तय गरी शिक्षाले अबका कार्यक्रम सञ्चालन गर्नुपर्छ । ४०% बालबालिकामा १४ वर्षभित्रै मानसिक समस्या सुरु हुन्छ । १६-४० वर्षका १९ जना युवाले दैनिक आत्महत्या गरेको मुख्य कारण बेखुसी र तनाव नै हो । रोगमुक्त शरीर, तनावमुक्त र हिंसामुक्त समाज निर्माणका लागि अहम् भूमिका शिक्षाको हो । शिक्षाले मात्र आत्मदीप्ति गराउन सक्छ । स्वजागरण जागेको प्रत्येक व्यक्तिले मात्र सत्य बुझ्न सक्छ । अबको शिक्षाको गन्तव्य शिक्षामा स्वजागरण नै हो । आफूलाई बदल्नेले मात्र संसार बदल्न सक्छ ।

४. मेरो निष्कर्ष
शिक्षा विषयगत ज्ञानको सञ्चय मात्र नभई स्वयम्‌लाई चिन्ने, आत्मज्ञान प्राप्त गर्ने र अन्तरनिहित जीवन ऊर्जालाई जागृत गराउने प्रक्रिया हो। हरेक व्यक्तिभित्र खुसी, शान्ति, आनन्द र आरोग्य विद्यमान भए पनि स्वजागरणको अभावका कारण मानिसले ती मूल्य बाहिरी धन, पद र प्रतिष्ठामा खोजिरहेको छ। आत्मज्ञानबिनाको शिक्षा प्रभावहीन हुन्छ र यही कमजोरीका कारण वर्तमान शिक्षा प्रणालीले व्यक्ति र समाजलाई सन्तुलित, खुसी र नैतिक बनाउन सकेको छैन। राष्ट्रको समृद्धि व्यक्तिगत स्वजागरणबाट सुरु हुन्छ। सोचाइ र चेतनामा परिवर्तन नगरी संरचना र स्रोत मात्र सुधारेर समस्या समाधान हुँदैन। परिवर्तन सानो कामबाट, आफूबाट सुरु हुनुपर्छ। स्वजागृत व्यक्ति मात्र इमानदार, अनुशासित, नैतिक र आत्मविश्वासी हुन्छ, जसले समाज र राष्ट्र निर्माणमा सकारात्मक योगदान दिन सक्छ। त्यसैले शिक्षाको मूल्याङ्कन खुसी, शान्ति, आनन्द र आरोग्यका आधारमा हुनुपर्छ। अभिभावक, शिक्षक, विद्यालय, स्थानीय सरकार र मन्त्रालय सबैले स्वजागरण केन्द्रित दृष्टिकोण अपनाउनुपर्छ। विशेषतः शिक्षक स्वयम् खुसी र स्वजागृत नभएसम्म विद्यार्थीमा स्वजागरण सम्भव हुँदैन। प्रारम्भिक बालविकासदेखि नै जीवन सिप, संस्कार, आत्मज्ञान र सिपयुक्त शिक्षा दिनु अनिवार्य छ। शिक्षा खुसी, आत्मदीप्ति, शान्ति र सकारात्मक ऊर्जाका लागि हुनुपर्छ। ‘संस्कार र सिपयुक्त शिक्षा’ मार्फत आत्मज्ञान र स्वजागरणलाई शिक्षाको केन्द्र बनाइएन भने नत व्यक्तिगत जीवन सुधार हुन्छ, न समाज र राष्ट्र नै समृद्ध बन्छ। आफूलाई बदल्ने व्यक्तिले मात्र संसार बदल्न सक्छ भन्ने मान्यतासहित अबको शिक्षाको अन्तिम गन्तव्य शिक्षामा स्वजागरण नै हो।

(लेखक ज्ञवाली शिक्षा विकास तथा समन्वय एकाइ, भक्तपुरको एकाइ प्रमुख हुनुहुन्छ ।)

प्रकाशित मिति : ५ पुष २०८२, शनिबार १२:५०