एमाले महाधिवेशनः शंकर पोखरेलको परिवारबाट तीन जनामात्रै उम्मेदवार
१ पुस, काठमाडौँ । नेकपा एमालेको एघारौँ महाधिवेशनमा महासचिवको उम्मेदवार शंकर पोखरेलको परिवारबाट तीन जनामात्रैले केन्द्रीय कमिटीमा उम्मेदवारी दिनुभएको छ ।
जारी महाधिवेशनमा पोखरेलको परिवारबाट महासचिवमा स्वयं पोखरेल, काठमाडौँ उपत्यका भूगोलबाट महिला केन्द्रीय सदस्यमा श्रीमति सुजिता शाक्य र लुम्बिनी प्रदेशको भूगोलबाट महिला केन्द्रीय सदस्यमा बहिनी मेनका पोखरेलले मात्रै उम्मेदवारी दिनुभएको छ ।
उहाँहरू तीनैजनाले केपी शर्मा ओली समूहको नाममा गुटको टिकट प्राप्त गर्नुभएको छ । परिवारकै तर्फबाट तीन जनाले गुटको टिकट पाउँदा अरूको नाम काटिएको भन्दै लुम्बिनी प्रदेशका महिला नेताहरू स्तब्ध भएका छन ।

दैनिकीको सम्पर्कमा रहनुभएको एक जना महिला नेताले गुटको टिकटको विषयमा रोष प्रकट गर्नुभयो । उहाँले दैनिकीसँग कुरा गर्दै भन्नुभयो, ‘पोखरेलको परिवारका अन्य सदस्यले दाबी नगरेकाले अरूले अवसर पाए नत्र उहाँले परिवारभन्दा बाहिरकालाई अवसर दिनुहुन्न । यसअघि २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि उहाँले बहिनी मेनका पोखरेललाई समानुपातिक सूचीको एक नम्बरमा नाम राखेर सांसद बनाउनु भो । अब पनि चुनाव जित्नुभो भने आगामी चुनावम श्रीमतिलाई समानुपातिक सूचीमा एक नम्बरमा राख्नुहुन्छ ।’
लुम्बिनीमा पोखरेलले परिवारवाद लादेको भन्दै धेरै महिला नेताहरूले सामाजिक सञ्जाल मार्फत पनि असन्तुष्टि जनाउनुभएको छ । एमालेको निर्वाचन कार्यतालिका अनुसार मंगलबार अपरान्ह ४ बजेबाट मतदान हुनेछ । यद्यपी ओलीलाई गुट व्यवस्थापनमा थप समय चाहिने भएकाले भोलि बिहान मात्रै मतदान हुने अनुमानहरू पनि सार्वजनिक भएका छन ।
प्रकाशित मिति : १ पुष २०८२, मंगलवार ०८:२७












