भ्रष्टाचारविरूद्धका अभियन्ता केदार खड्का पनि अब राजनीतिमा
२६ मंसिर, काठमाडौँ । भ्रष्टाचारविरूद्धका अभियन्ता केदार खड्का उज्यालो नेपाल पार्टीमा जोडिनु भएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी बाँड्दै केन्द्रीय सदस्यमा मनोनित गरेकोमा पार्टीलाई धन्यवाद दिनुभएको छ ।
तीन दशकदेखि भ्रष्टाचारविरूद्धको नागरिक अभियानको नेतृत्व गर्नुभएको खड्का पहिलो पटक राजनीतिमा जोडिनु भएको हो । उहाँले विगतमा आफूसँगै सहकार्य गरेका अशल शासन अभियन्ताहरूलाई पनि कानुन कार्यान्वयनमा दबाब दिने अभियान मानेर उज्यालो नेपाल पार्टीमा जोडिन अपिल गर्नुभएको छ ।
यस्तो छ उहाँको अपिलः
तिब्र गतिमा उदाउँदो ‘उज्यालो नेपाल पार्टी’ को २०८२ मंसिर १८–१९ गते बसेको केन्द्रीय समितिको बैठकले मलाई ‘केन्द्रीय सदस्य’मा मनोनयन गरेकोमा हार्दिक धन्यवाद ।
आसन्न निर्वाचनअघि उदाएको यो पार्टीले छोटै समयमा देशव्यापी चर्चासँगै माया बटुलेको छ । कुलमान घिसिङजस्ता उज्यालो नायकको संरक्षण प्राप्त यो पार्टीमा चेतनशील अभियन्ताहरू सबै प्रदेश र जिल्लाबाट तीव्र गतिमा जोडिँदै छन् । त्यसैले मैले यो नेतृत्वलाई आत्मसात गरी जिम्मेवारी स्वीकारेको छु ।
विगतमा पत्रकारिता र भ्रष्टाचारविरुद्धको नागरिक अभियानबाट मनग्गे अनुभव हासिल गर्ने अवसर पाएको छु । भ्रष्टाचारविरुद्ध जनमत निर्माणका साथै विभिन्न ऐन, नियम, नीति निर्माणलगायत विशेष अदालत गठनजस्ता कानुनी तथा संस्थागत निर्माणमा पहल र पैरवी गरेकोमा गर्व लाग्छ । देशभरि गठित असल शासन क्लबमार्फत ६३ हजारभन्दा बढी युवाहरू भ्रष्टाचारविरुद्ध आवाज उठाउन जोडिएको इतिहास छ । हाम्रै पहल र पैरवीमा तत्कालीन अख्तियार प्रमुखले मन्त्री, सचिवलगायत आधा दर्जनभन्दा बढी प्रहरीका उच्च अधिकृतलाई कारबाहीको दायरामा ल्याएर इतिहास रचेको विषयमा यहाँहरू चस्मादित प्रमाण हुनुहुन्छ ।

सो अभियानमा आवद्ध तत्कालीन युवाहरू अहिले प्रदेशमा मन्त्री, सांसद, नगरपालिका प्रमुख, उपप्रमुख, सिडियो, प्रशासक, उच्च प्रहरी तथा सेना अधिकृत बनेर योगदान दिइरहेका छन् । साथै विगतमा म सँग पत्रकारिता, नागरिक अभियानलगायत अध्ययन अनुसन्धानलमा जोडिनु भएको सबै अग्रज र अभियन्ताहरूलाई धन्यवाद भन्न चाहन्छु । साथै तपाईंहरूसँगै मिलेर मेरो आगामी यात्रा यसै पार्टीमार्फत विगतको अनुभवलाई संस्थागत गर्ने प्रयास गर्नेछु ।
अन्तमा, असल शासन अभियन्ताहरूलाई उज्यालो नेपाल पार्टीको साझेदारीमा जोडिएर आफ्नो विगतको योगदानलाई संस्थागत गर्न हार्दिक अपिल गर्दछु । यसको मुख्य उद्देश्य नै हाम्रै पहल र पैरवीमा बनाइएका भ्रष्टाचारविरुद्धका ऐन, कानुन र संरचनालाई कार्यान्वयन गर्न राजनीतिक सुद्धताको अभियान चलाउनु हो । आउनुहोस्, भ्रष्टाचारविरुद्ध सुशासन अभियानलाई पुनर्जीवित गर्दै नीति निर्माणपछिको कार्यान्वयन तहमा जुटौं । ‘कसको पैसा कसको विकास ? अब खोज्नुपर्छ पूरा हिसाब, नमस्कार !’ सम्पर्कका लागिः ९८५१०७२२२५ वा [email protected]
उज्यालो नेपाल पार्टीसँग गोलबद्ध भएर गर्वको अनुभव गरौं !
#ujyalonepalparty
प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार १२:१५












