२६ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025

केपी शर्मा ओलीका लागि महाधिवेशन प्रतिनिधिको खुला पत्र

श्रदेय अध्यक्षज्यु अभिवादन !
हामी नेकपा एमालेको राजनैतिक इतिहासकै अत्यन्तै जटिल र संबेदनशील मोडमा छौं । नेपालको इतिहासमा विभिन्न आरोह अवरोह पार गर्दै कठिन अवस्थामा पनि दृढताका साथ आफ्नो साख जोगाउँदै क्रियाशील हाम्रो पार्टीलाई जनताको रोजाइको पहिलो पार्टीको रूपमा स्थापित गर्न योगदान गर्नुहुने सम्पूर्ण शिर्ष कमरेडहरुप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु। तपाईंको राजनैतिक निष्ठा, अडान र जीवनभरको बलिदानीको लागि नतमस्तक छु।

विगतलाई फर्केर हेर्दा विभिन्न कालखण्डमा सांगठनिक निष्ठा र विचलन दुबैलाई बेहोर्दै हामी यो मोडमा आइपुगेका छौँ । सैद्धान्तिक आस्था र वैचारिक शुद्धता नै सबै नेता र कार्यकर्ताको राजनैतिक लक्ष्य भयो। जसका कारण स्थानीय गाउँघरमा मतदातालाई सकारात्मक प्रभाव पारेर आफ्नो निष्ठा र व्यबहारले मत संकलन गर्न सक्षम स्थानीय नेता तथा कार्यकर्ताको योगदान अमुल्य छ। जुनसुकै पार्टी पनि स्थानीय संगठनकै कारण मजबुत हुन्छ।

dainiki.com

जनताको असन्तुष्टि र पार्टीप्रतिका प्रहार स्थानीय कार्यकर्ताले नै सामना गर्नुपर्ने हुन्छ। जुन नदेखिएको पर्दा पछाडिको सत्य हो। संगठनको हिसाबले परिपक्व हाम्रो पार्टी जिम्मेवारीमा रहनुहुने कतिपय केन्द्रिय प्रतिनिधिको सक्रियता र दृढ संकल्पका हिसाबले अझै कतै अपुग भएको अनुभुति कार्यकर्ताबाट व्यक्त भएका छन् । अहिलेको परिस्थिति झन् जटिल छ। अराजक तत्वले फैलाएको भ्रमले जनता भ्रमित छन् । अनेकौं विकल्प प्रतिस्पर्धामा उभिएका छन् । क्षणभरको कोरा आश्वासनबाट जनता प्रभावित हुन सक्ने अवस्था छ। जनताले तत्काल परिवर्तन र प्रतिफल खोजेका छन् । देश खरानी भएको छ। नेकपा एमालेको आस्था र बिश्वासमा आगो लगाइएको छ। आगोको भुङ्रोबाट उठेर पुनः नेता कार्यकर्ता जागृत भएको अवस्था छ।

यस्तो अवस्थामा हुन गइरहेको हाम्रो पार्टीको ११ औं महाधिवेशन देश, बिदेश र समग्र राजनीतिको चासो र देशको खरानी पखाल्ने र पुनः जग बसाउने नव निर्माणको ओखती बन्ने पर्खाइमा जनता र कार्यकर्ताहरु छन् । विगतमा भएका महाधिवेशन भन्दा भिन्न परिस्थितिमा हुन गइरहेको यो महाधिवेशनले फरक सन्देश दिनैपर्छ । हिजो पार्टी अध्यक्षको वरिपरि घुमेर निरन्तर केन्द्रिय कमिटीको जिम्मेवारी सम्हालेका तर स्थानीय जनताले प्रत्यक्ष देख्नसमेत नपाएका कुनै हाम्रा नेता हुनुहुन्छ भने अब विचार पुर्याउनु पर्छ ।

जसले स्थानीय थलोमा निरन्तर दृढताका साथ डटेर पार्टीलाई मजबुत बनायो तर नेतृत्वसँग कहिल्यै कुनै अपेक्षा र स्वार्थ राखेन ती नेता कार्यकर्ता यो महाधिवेशनमा खोजिनुपर्छ।जिम्मेवारी दिनुपर्छ र प्रोत्साहन गर्नुपर्छ भन्ने अपिल गर्दछु।

अन्त्यमा हामी नेकपा एमालेका समस्त नेता कार्यकर्ता कायर हुन होइन आत्मबलका साथ समर्पित भएर आफ्नो असल आचरण र पार्टीको सैद्धान्तिक निष्ठामा रहेर पार्टीको साख जोगाउन र देश बचाउन जुरुक्क उठ्ने्ने योद्धा हौं। म पनि यो महाधिवेशन प्रतिनिधिको हैसियतले अत्यन्तै संयमताका साथ आफ्नो भूमिकामा रहने प्रतिबद्धताका साथ तपाईंको त्याग, बलिदान र दृढ़ संकल्पको उच्च कदर गर्दछु। फरक सन्देश र नयाँ अनुहारका प्रतिनिधिको छनौटमा सबैको ध्यानाकर्षण हुने बिश्वास गर्दछु। धन्यवाद लालसलाम !!

-भिमलाल अधिकारी
गण्डकी प्रदेश सचिवालय सदस्य, नेकपा (एमाले) तथा प्रमुख, मध्यविन्दु नगरपालिका

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार ०९:२८