२४ मंसिर २०८२, बुधबार | Thu Dec 11 2025

एमाले महाधिवेशनमा २ हजार २ सय ६२ प्रतिनिधि सहभागी हुने

२३ मंसिर, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनका लागि निर्वाचित प्रतिनिधिहरूको अध्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको छ । सो पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा सङ्गठन विभागका प्रमुख काशीनाथ अधिकारी र सचिव माधव ढुङ्गेलसहितको समितिले  प्रतिनिधिहरुको विवरण अध्यावधिक गरिरहेको जनाइएको छ ।

विभागका प्रमुख अधिकारीका अनुसार प्रतिनिधिमध्ये दुई हजार १५४ भूगोल र गैरभूगोलबाट निर्वाचित र १०८ केन्द्रबाट प्रतिनिधि मनोनित हुने छन् । मनोनितसहित प्रतिनिधिको सङ्ख्या दुई हजार २६२ हुने प्रमुख अधिकारीले जानकारी दिनुभयो ।
बन्द सत्रमा प्रतिनिधिबाहेक केन्द्रीय सल्लाहकार परिषद्का ३५१ सदस्य सहभागी हुने पाउने हुँदा प्रतिनिधि र सहभागी गरी महाधिवेशनमा दुई हजार ६१३ सहभागी हुनेछन् । ती सबैका लागि यही मङ्सिर २५ गतेभित्र परिचयपत्र छपाइ सकिने तयारी गरिएको सो पार्टीले जनाएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलवार ११:०५