२३ मंसिर २०८२, मंगलवार | Tue Dec 9 2025

हिउँदयाममा बाँसस्थान फेरिएको मुस्ताङको साङ्ता गाउँ

२३ मंसि, मुस्ताङ । यहाँको मुस्ताङ–डोल्पा सडकको सिमाना नजिक एक सानो गाउँ छ । विसं २०२२ मा पहिचान भएको यस गाउँको नाम हो साङ्ता । पछि पत्ता लागेका कारण यहाँको साङ्ता गाउँलाई मुस्ताङ जिल्लाको सबैभन्दा कान्छो गाउँसमेत भन्ने गरिएको छ ।

कठिन भूगोलमा अवस्थित यहाँको साङ्ता गाउँमा करिब १३ घरधुरीको बसोबास छ । मुस्ताङ–डोल्पा सडकसँगै रहेको साङ्ता गाउँ अहिलेको स्थान्तरित बस्ती हो । यो बस्ती अहिलेको बस्तीबाट केही टाढा खोलापारीको भिरालो स्थानमा अवस्थित थियो । त्यहाँ स्थानीयले खेतपाती र पशुपालन गरी जीविकोपार्जन गथ्र्ये ।

त्यहाँको स्थानमा खेतपाती गर्न सिँचाइको अभाव भएपछि साङ्ता गाउँका नागरिकले उक्त स्थान छोडेर हालको स्थानमा स्थान्तरित भएका थिए । यहाँ स्थान्तरित बस्ती बसेको पाँच दशक बढी भइसकेको जनाइएको छ । अझै पनि साङ्ता गाउँलेले त्यागेको पुराना भग्नावशेष घर र खेतका अवशेषहरु त्यहाँ विद्यमान छन् ।

साङ्ता गाउँ मुस्ताङको जोमसोमदेखि करिब ४० किलोमिटरको दुरीमा पर्छ । सङ्घीयतापछि यहाँको मुस्ताङ–डोल्पा सडक विस्तार हुँदा साङ्ता गाउँलाई कच्ची सडक सञ्जालले छोएको छ । समुन्द्री सतहको चार हजार मिटर अग्लो उचाइमा विस्तार गरिएको मुस्ताङ–डोल्पा सडक अझै थप स्तरोन्नति गर्नुपर्नेछ । यहाँसम्म सडक जोडिएकाले साङ्ता गाउँका नागरिकहरुले पछिल्लो समय राज्यबाट उपलब्ध हुने केही सेवासुविधा सहज रुपमा पाउँन थालेका छन् ।

अग्ला अग्ला विशाल पहाडले घेरिएको साङ्ता गाउँको सडक तलपट्टी भिरालो खोचमा अवस्थित छ । अभाव र अशिक्षाको भूमरीमा जकडिएको यहाँको साङ्ता गाउँमा अचेल राज्यको उपस्थित आँकलझुकल देखिन थालेपछि स्थानीयले केही राहतको अनुभूति गर्न थालेका छन् । माथिल्लो डोल्पाका स्थानीयले नागरिक किनमेलका लागि जोमसोम आउजाउँ गर्ने बाटो साङ्ता गाउँ नै हो । कहिलेकाँही फट्टफुट्टा विदेशी पर्यटकहरु साङ्ता गाउँ हुँदै पदयात्रा गर्छन् । सरकारले यहाँको साङ्ता गाउँलाई निषेधित तथा नियन्त्रित क्षेत्रको सूचीमा राखेको छ ।

साङ्ता गाउँमा गएको सङ्घीय तथा प्रादेशिक निर्वाचनमा १३ घरधुरीका ३४ जना मतदाता थिए । गाउँमा एक आधारभूत विद्यालय अहिले बन्द अवस्थामा छ । गाउँका बालबालिका विभिन्न सङ्घसंस्थाहरुको सहयोगमा अन्यत्रको स्कुलमा पढाइ दिएपछि यहाँको स्कुल बन्द हुन पुगेको हो । गाउँमा स्थास्थ्य संस्था नहुँदा कुनै गम्भीर प्रकृतिको बिरामी पर्दा त्यहाँका नागरिकलाई निकै ठूलो समस्या पर्ने गर्छ । गाउँमा वैकल्पिक सौर्य ऊर्जा र नेपाल टेलिकमको बिटीएस टावर जडान गरेपछि बिजुली र टेलिफोनको तत्कालको समस्या टरेको छ ।

यहाँको स्थान्तरित साङ्ता गाउँको वार्षिक दिनचर्या अरुको गाउँको भन्दा विल्कुल फरक छ । वर्खायाममा सात महिना गाउँमै बसेर खेतीपाती र पशुपालन गरी बस्ने साङता गाउँका नागरिक हिउँदयामको चार÷पाँच महिनाको समय भने गाउँ पारीको ‘घोक’ भन्ने पाखामा गएर कटाउँथे । त्यहाँ हिउँदयाम न्यानो हुने भएकाले गाउँ छोडेर घोक भन्ने स्थानमा अस्थायी बसोबास गथ्र्ये । त्यहाँ उनीहरुले अस्थायी टहरा र खेती गर्ने लालपुर्जा वाला जग्गा थियो । वर्षौवर्षदेखि हिउँदयाममा जाडो छल्न त्यहाँ जाने गरेका साङ्ता गाउँका नागरिक विगत सात वर्षदेखि उक्त स्थान छोडेर वारागुङ–५ कै पाक्लिङ, फल्याक र धाकार्रजुङलगायत गाउँहरुमा बस्न थालेका छन् । वर्खायामको गर्मी मौसममा साङ्ता गाउँमा बस्ने र हिउँदयामको जाडोमा पाँच महिना फल्याक, धाकार्रजुङ र पाक्लिङलगायत गाउँमा बस्न थालेको सोही गाउँका वडासदस्य छिरिङ पाल्साङ गुरुङले बताउनुभयो ।

अहिले मुस्ताङ–डोल्पा सडकको साङ्ता गाउँ जाने बाटोमा बग्रेल्ती हिउँ छ । सडकमा बाक्लो हिउँ जमेका कारण गाडी र ट्याक्टर जान सक्ने अवस्था छैन । गाउँसम्म आउजाउ गर्न बाक्लो हिउँको बाटो छिचोल्नुपर्ने हुन्छ । यहाँ गत कात्तिक १० गते हिमपात हुँदा यहाँको सडक पूरै हिउँले अवरुद्ध बनेको छ । हिउँदयाममा जाडो छल्न पारी पाखाको ‘घोक’ भन्ने ठाउँमा बस्न जाँदा समस्या र चुनौती हुने भएकाले हिउँदे बासस्थान फेरिएको वडा सदस्य छिरिङ पाल्साङ गुरुङले जानकारी दिनुभयो । यसपालि हिउँ र चिसो बढेकाले मङ्सिर अगावै गाउँ छोडेर जाडो छल्न फल्याक, पाक्लिङ र धाकार्रजुङ गाउँमा झरेको बताउँनुभयो । गाउँको बाटोमा पूरै हिउँ छ, गाडी चल्दैन, आवतजावत गर्न निकै ठूलो समस्या छ”, वडा सदस्य गुरुङले भन्नुभयो, “साङ्ता गाउँमा बस्दा बिरामी परियो भने त उपचार पाउन  गाह्रो हुन्छ, हेलिकप्टर चार्टर गरेर उपचार गर्ने हाम्रो सामथ्र्यले भ्याउँदैन ।”

जोमसोम नजिकैको गाउँमा आफन्तको घरमा काम गरेर हिउँदयामका उराठिला दिनहरु कटाउने गरेको वडा सदस्य गुरुङले उल्लेख गरे ।

“यता त केही न्यानो हुन्छ, खानेकुरा सस्तो हुन्छ”, वडा सदस्य गुरुङले भन्नुभयो, “बिरामी परेमा उपचार गर्न सजिलो छ, यसैले विगत छ÷सात वर्षदेखि हामी घोक पाखामा बस्न छोडेर यतै बस्ने गरेका छौँ ।” उहाँले हिउँद सकिएर गर्मी सुरु भएपछि मात्रै साविककै स्थानमा फर्किने जानकारी दिनुभयो । उहाँका अनुसार अहिले साङ्ता गाउँका १३ घरधुरीमध्ये तीन घरधुरी पाक्लिङ गाउँमा, ४ घरधुरी फल्याक गाउँमा र ७ घरधुरी धाकार्रजुङ गाउँमा आफन्त घरमा बसेको बताउँनुभयो ।

साङता गाउँको पारी घोक पाखामा पशु गोठालाहरु मात्रै बस्ने गरेको साङ्ता गाउँका गाउँ मुखिया थुक्तेन गुरुङले बताउँनुभयो । साङ्तामा ४ घरधुरीले च्याङ्ग्रा पालेको र दुई घरधुरीले संयुक्त रुपमा याक पालन गरेका छन् । अहिले साङ्ता गाउँका स्थानीयले गोठालालाई पशुचौपायाको रेखदेखको जिम्मा लगाएर सबै महिला, पुरुष र बालबालिका जोमसोम नजिकका गाउँहरुमा झरेको मुखिया गुरुङले बताउनुभयो ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलवार १०:४१