१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

१९ मंसिर, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले यही मंसिर २७ गतेबाट सुरु हुने पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनलाई राष्ट्रियता, लोकतन्त्र र संविधानमाथि आएको सङ्कटविरुद्ध जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने महत्त्वपूर्ण अवसरका रूपमा व्याख्या गर्नुभएको छ ।

उहाँले एक सार्वजनिक अपिलमार्फत राष्ट्रियता, लोकतान्त्रिक प्रणाली र सुशासनको पक्षमा एमालेलाई ७७ वर्षको जनयात्रामा सदैव जनताको साथमा उभिएको शक्तिका रूपमा एमाले रहेको उल्लेख गर्नुभएको छ । त्यसैले यस महाधिवेशनमा व्यापक उपस्थितिका लागि उहाँले आह्वान गर्नुभएको छ ।

अध्यक्ष ओलीले हालै प्रतिनिधिसभा असंवैधानिक रूपमा विघटन गरिनु, जनादेश प्राप्त सरकार विस्थापित गरिनु, विधिको शासन कमजोर बनाइनु र अराजक समूहहरूको सक्रियता बढ्नु देशको स्थायित्वविरुद्धको षड्यन्त्र भएको टिप्पणी गर्नुभएको छ ।

निर्वाचन घोषणा भए पनि त्यसका पूर्वशर्तका रूपमा आवश्यक निर्भयताको वातावरण निर्माण नभएको उहाँको आरोप छ । “हामीले लोकतन्त्र फर्काउनु छ, राष्ट्रियता तथा संविधानविरुद्धका षड्यन्त्र परास्त गर्नु छ, यस्तो विशेष परिस्थितिमा हुन गइरहेको महाधिवेशनको ऐतिहासिक महत्व छ”, ओलीको अपिलमा उल्लेख छ ।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार १९:१४