१६ असार २०८३, मंगलबार | Tue Jun 30 2026

अनावश्यक उम्मेदवारी घोषणाले पार्टी विभाजनतिर जान्छ, एमालेमा ओलीको विकल्प छैनः बादल

१९ मंसिर, काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा (बादल)ले अहिले लोकतान्त्रिक राजनीतिक दलको नेतृत्वलाई कमजोर बनाइ प्रतिक्रिया उन्मुख शक्तिहरू अघि बढ्ने प्रयत्नमा रहेको बताउनुभएको छ ।

यस विरुद्ध जुध्न पार्टीभित्र एकता, निरन्तरता र नेतृत्व संरक्षण अहिलेको अपरिहार्य आवश्यकता रहेको थापाले बताउनुभयो। प्रेस चौतारी नेपालले शुक्रबार कार्यालयमा आयोजना गरेको संवाद कार्यक्रममा उहाँले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन ‘सामान्य महाधिवेशन नभई प्रतिक्रान्ति विरुद्धको निर्णायक राजनीतिक मोड’ भएको बताउनुभयो ।

उहाँका अनुसार लोकतन्त्र स्थापना गर्ने राजनीतिक दलहरूको नेतृत्वलाई कमजोर पारेर मात्र प्रतिक्रान्ति सफल बनाउन सकिन्छ भन्ने गलत अवधारणाबाट प्रेरित शक्ति सक्रिय अहिले सक्रिय भएका छन् । ‘राजनीतिक दलको नेतृत्व विस्थापित गर्ने प्रयास भइरहेको छ, नेतृत्वलाई विस्थापित गरेर मात्र प्रतिक्रान्ति सफल हुन्छ भन्ने सोचबाट प्रतिगामी शक्ति अघि बढेका छन्’, थापाले भन्नुभयो ।

उहाँले एमालेलाई लक्षित गरी ‘फुटाऊ र शासन गर’ नीतिअन्तर्गत शीर्ष नेतृत्वलाई हटाउने, पुस्तान्तरणको नाममा आफ्नै अनुकूलको नेतृत्व स्थापित गर्ने चलखेल भइरहेको टिप्पणी गर्नुभयो । उहाँका अनुसार यस्तो प्रयास विफल पार्न एमालेले ११ औँ महाधिवेशनलाई एकताको महाधिवेशनका रूपमा अघि बढाउनुपर्ने छ । थापाले भन्नुभयो, ‘प्रतिगामी शक्ति नेतृत्वलाई सिद्ध्याउन चाहन्छन्, हामी हाम्रो नेतृत्वलाई संरक्षण गर्न चाहन्छौँ, अहिले एक अर्कालाई विस्थापित गरेर जाने समय होइन, एकता र सुदृढीकरणको समय हो, आवश्यक परे विधान संशोधन गरेर भए पनि सबैलाई समेटेर लैजानुपर्छ ।’

 

उहाँले अध्यक्ष केपी शर्मा ओलीलाई कम्युनिष्ट आन्दोलनको मूलधार स्थापित गर्ने, एमालेलाई ठुलो पार्टी बनाउने र देशलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउने नेता भन्दै उच्च प्रशंसा गर्नुभयो । ‘प्रतिगामीहरूले फुटाए पनि पार्टी जनमतका हिसाबले पहिलो पार्टी बन्यो, नेपालले विकासशील मुलुकको मान्यता उहाँकै नेतृत्वमा प्राप्त गर्‍यो, त्यसैले अहिले पनि उहाँकै नेतृत्व राष्ट्रिय आवश्यकता हो’, थापाले भन्नुभयो ।

थापाका अनुसार वर्तमान राजनीतिक परिस्थितिमा अध्यक्ष ओलीको नेतृत्वलाई निरन्तरता दिनु पार्टी र राष्ट्र दुवैकै आवश्यकतासँग जोडिएको छ । उहाँले चेतावनी दिँदै भन्नुभयो, ‘अनावश्यक उम्मेदवारी घोषणाले पार्टीलाई विभाजन र विसर्जनतिर लैजान्छ, महाधिवेशनबाट सहमतिमा आधारित एकताबद्ध नेतृत्व निर्माण गर्नुपर्ने छ’, उहाँले भन्नुभयो ।

कार्यक्रममा उहाँले आगामी नेतृत्वमा आफू पनि स्थानीय भूमिकामा रहनुपर्ने अपेक्षा व्यक्त गर्नुभयो । ‘अहिलेको अवस्थाले पार्टी र देश दुवैले मेरो भूमिकालाई आवश्यक ठानेको जस्तो लाग्छ, महाधिवेशनबाट आउने नेतृत्वमा मेरो पनि योगदान रहने अपेक्षा छ’, उहाँले भन्नुभयो ।

जेनजी आन्दोलनको आवरणमा नेपाललाई ध्वस्त बनाउने पश्चिमाहरूको योजना रहेको उहाँले बताउनुभयो । पश्चिमा सैन्य बल नेपाल भित्र्याउने योजना अनुसार जेनजीका नाममा आन्दोलन भएको उहाँले प्रष्ट पार्नुभयो ।

प्रकाशित मिति : December 5, 2025 at 2:28 pm