१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

एमाले महाधिवेशनको तयारी सुरु, उपमहासचिवद्धारा उद्घाटनस्थल निरीक्षण

१८ मंसिर, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को यही मङ्सिर २७ गतेदेखि सुरु हुने ११औँ राष्ट्रिय महाधिवेशनको तयारी सुरु गरेको छ ।

महाधिवेशनको उद्घाटनस्थल भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनीको चौरमा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीसहितको टोलीले बुधबार निरीक्षण गरेको छ ।

उपमहासचिव ज्ञवाली, एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमलगायतका नेताहरुले कार्यक्रमस्थलको अनुगमन गरेका हुन् । उपमहासचिव ज्ञवालीले उद्घाटनस्थलमा करिब दुई लाख अट्न सक्ने क्षमता रहेको बताउँदै उक्त चौर भरिभराउ हुने बताउनुभयो । उहाँले महाधिवेशनका सबै तयारीहरू उत्साहजनक रूपमा अगाडि बढिरहेको जानकारी दिनुभयो ।

महाधिवेशनमा करिब दुई हजार ५०० बढी प्रतिनिधि सहभागी हुने छन् । उद्घाटन सत्रमा देशभरबाट एक लाख ५० हजार बढी कार्यकर्ता सहभागी हुने अनुमान गरिएको छ ।

प्रचार विभाग प्रमुख गौतमले मञ्चलगायतका संरचनाहरु कसरी बनाउने भन्ने तयारी स्वरुप आजको निरीक्षण गरिएको बताउनुभयो । उहाँले मञ्च निर्माणदेखि नै करिब ६०० स्वयंसेवक पोसाकमा खटिने जनाइएको छ । पार्टी जिल्लाका उपाध्यक्ष किरण थापाले आजबाटै डोजर लगाएर कार्यक्रमस्थल तयारी सुरु गरेको जानकारी दिनुभयो ।

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहीबार १८:१६