११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026
http://kk5.io/NADA2026

बीमा प्राधिकरणद्वारा बीमा अभिकर्ताको इजाजतपत्र नवीकरण सम्बन्धी निर्देशन जारी

१६ मंसिर, काठमाडौँ । नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ताको लाइसेन्स नवीकरण गर्ने सम्बन्धमा नयाँ निर्देशिका जारी गरेको छ । प्राधिकरणको मंसिर १५ गते बसेको बैठकले बीमा अभिकर्ताको इजाजतपत्र नवीकरण सम्बन्धी निर्देशन जारी गरेको हो ।

निर्देशनअनुसार जीवन बीमा अभिकर्ताले इजाजतपत्र नवीकरणको लागि बीमा नियमावली, २०८१ को नियम ४३ को उपनियम (१) को खण्ड (ख) बमोजिम कम्तीमा एक प्रतिशत बीमालेख नवीकरण भएको प्रमाण पेश गर्नुपर्नेछ।

बीमा अभिकर्ताले आफ्नो व्यक्तिगत विवरण IRMIS प्रणालीमा स्पष्ट र बुझिने कागजात अपलोड गरी अद्यावधिक गर्नुपर्ने र इजाजतपत्र नवीकरणको लागि बीमा नियमावलीको अनुसूची ७ अनुसार नवीकरण दस्तुर एक हजार र नियमन दस्तुर ५०० गरी जम्मा एक हजार ५०० रुपैयाँ लाग्ने प्रावधान गरिएको छ।

यदि बीमा अभिकर्ताले इजाजतपत्रको अवधि भित्र नवीकरण गर्न सकेन भने, बीमा ऐन, २०७९ को दफा ९४ को उपदफा २ अनुसार म्याद सकिएको तीन महिनाभित्र विलम्ब शुल्क एक हजार रुपैयाँ तिरेर निवेदन पेश गर्न सकिने व्यवस्था छ।

त्यस्तै, बीमा ऐन, २०७९ को दफा ९५ अनुसार, इजाजतपत्रको म्याद सकिएको तीन महिनाभित्र नवीकरणको लागि निवेदन पेश नगरेको खण्डमा बीमा अभिकर्ताको इजाजतपत्र स्वतः खारेज हुने प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : December 2, 2025 at 5:06 pm