१५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026

व्यवसायिक कारोबारमा व्यक्तिगत क्यूआर प्रयोग नगर्न राष्ट्र बैंकको अनुरोध

१६ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले व्यवसायिक कारोबारका लागि व्यक्तिगत क्यूआर कोड प्रयाेग नगर्न अनुराेध गरेकाे छ । बैंकले आज एक  चेतनामूलक सूचना जारी गर्दै व्यवसायिक र व्यक्तिगत क्यूआर प्रयोग गर्दा हुने प्रभावबारे जनतालाई अवगत गराइएको छ।

राष्ट्र बैंकका अनुसार व्यावसायिक क्यूआर कोड प्रयोग गर्दा कुनै अतिरिक्त शुल्क नलाग्ने, भुक्तानी रकम सीधै व्यापारीको बैंक खातामा जम्मा हुने, कारोबार प्रमाणित र सुरक्षित रहने तथा कर प्रणालीमा पारदर्शिता कायम रहने उल्लेख गरिएको छ। यसले अनलाइन कारोबारलाई प्रवर्द्धन गर्ने र राष्ट्रको आर्थिक विकासमा समेत योगदान पुर्‍याउने बैंकले जनाएकाे छ ।

तर, व्यक्तिगत क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा भने अतिरिक्त शुल्क लाग्ने, रकम व्यक्तिगत खातामा जाने र कारोबार अनौपचारिक क्षेत्रमा प्रवाह हुन सक्ने जोखिम बैंकले बताएको छ। यसले कर छल्ने सम्भावना बढाउने र वित्तीय प्रणालीमा पारदर्शिता कमजोर बनाउने राष्ट्र बैंकले जनाएकाे छ ।

साथै, बैंकले व्यवसायिक प्रयोजनका लागि अनिवार्य रूपमा व्यावसायिक क्यूआर प्रयोग गर्न सबै व्यापारी तथा सेवा प्रदायकलाई आग्रह गर्दै उपभोक्तालाई पनि भुक्तानी गर्दा क्यूआरको प्रकार पहिचान गर्न अनुराेध गरेकाे छ ।

प्रकाशित मिति : December 2, 2025 at 12:18 pm