विदुर खानेपानीमा पुनः सञ्जिव श्रेष्ठ, कांग्रेस र एमालेको गठबन्धनलाई धक्का
१४ मंसिर, नुवाकोट । विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा पुनः सञ्जिवबहादुर श्रेष्ठ विजयी हुनुभएको छ । केहीबेर अघि सम्पन्न मतगणनामा अध्यक्षमा स्वतन्त्र प्यानल बनाएर लडेका हरीशरण गजुरेललाई पराजित गर्दै अध्यक्षमा पुनः श्रेष्ठ विजयी हुनुभएको हो ।
अध्यक्षमा श्रेष्ठले १३७० मत प्राप्त गर्दा गजुरेलले ७३७ मत प्राप्त गर्नुभयो । त्यस्तै उपाध्यक्षमा स्वतन्त्रको राजेन्द्र पाण्डे विजयी हुनुभयो । पाण्डेले १०६१ मत प्राप्त गर्दा प्रधानले ९६९ मत प्राप्त गर्नुभयो । पाण्डे एमालेको विदुर नगर कमिटीको सदस्य हुनुहुन्छ भने प्रधान एमालेको जिल्ला कमिटीको सदस्य हुनुहुन्छ । प्रधान कांग्रेस र एमालेको आधाकारिक प्यानलको उपाध्यक्षको उम्मेदवार हुनुहुन्छ भने पाण्डे स्वतन्त्र प्यानलको उपाध्यक्षको उम्मेदवार हुनुहुन्छ ।

त्यस्तै सचिवमा स्वतन्त्र प्यानलको रघुनाथ रिमाल विजयी हुनुभयो । रिमालले १०६१ मत प्राप्त गर्दा अच्युतराज महन्त गिरीले ९२२ मत प्राप्त गर्नुभयो । रिमाल माओवादी पृष्ठभूमिको स्वतन्त्र प्यानलको उम्मेदवार हुनुहुन्थयो भने गिरी कांग्रेसको कोटामा गठबन्धनको उम्मेदवार हुनुहुन्थ्यो । नेपाली कांग्रेसले गिरीको नेतृत्वमा एमालेसँग गठबन्धन गरेर खानेपानीको चुनावमा सहभागिता जनाएको थियो ।
कोषाध्यक्षमा अम्बिका चित्रकार खनाल विजयी हुनुभएको छ । एमाले निकट खनाल गठबन्धनको उम्मेदवार हुनुहुन्छ । उहाँले ११६७ मत प्राप्त गर्दा संगीता कोइरालाले ८२५ मत प्राप्त गर्नुभयो । त्यस्तै सदस्यहरूमा
विन्दाकुमारी सडौला, शंकर पाण्डे, गोविन्दबहादुर अधिकारी, सीता अधिकारी। दीपकबहादुर तिमल्सिना विजयी हुनुभएको छ। विजयी सदस्यहरू मध्ये पाण्डे र अधिकारीद्धय नेपाली कांग्रेस निकटको हुनुहुन्छ ।
कांग्रेस र एमालेको गठबन्धन भएर नेताहरू सबै मैदानमा उत्रिता पनि स्वतन्त्र प्यानले उपाध्यक्ष र सचिव जस्तो महत्वपूर्ण पदमा जित दर्ता गरेर सुधारको बाटोमा लाग्न दलहरूलाइ संकेत दिएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार ११:०३












