नुवाकोटमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको ज्यान गयो
१० मंसिर, नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–५ पिपलटारमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको ज्यान गएको छ । मंगलबार साँझ गल्छी–त्रिशुली सडक खण्ड अन्तर्गत पिपलटारमा भएको मोटरसाइकल दुर्घटनामा स्थानीय ८० वर्षीय लिलानाथ कोइरालाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मंगलबार साँझ साढे ५ बजे गल्छीबाट बट्टारतर्फ आउँदै गरेको ग १८ प ६३७० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ८० वर्षीय लिलानाथ कोइराला गम्भीर घाइते भएका थिए । घाइते कोइरालालाई तत्काल उद्धार गरी उपचारका लागि त्रिशूली अस्पताल पुर्याइएकोमा उपचारकै क्रममा साँझ सवा ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक लमजुङका २६ वर्षीय जीवन तामाङ र पछाडि सवार ३१ वर्षीय विष्णु थापा सामान्य घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय नुवाकाेटका सूचना अधिकारी हरिबोल के.सी.का अनुसार चालक र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार ०७:५६












