२६ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025

फाल्गुन २१ को निर्वाचन सुनिश्चित भयो भन्नु भ्रमपूर्ण कुराः महासचिव पोखरेल

९ मंसिर, काठमाडाैँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले फाल्गुन २१ को निर्वाचन सुनिश्चित भयो भन्नु भ्रमपूर्ण रहेको टिप्पणी गर्नुभएको छ । मंगलबार राति फेसबुकमा टिप्पणी गर्दै उहाँले एमालेले निर्वाचन आयोगमा अद्यावधिक रूपमा दल दर्तामात्र गरेको उल्लेख गर्नुभएको छ ।

यस्तो छ पोखरेलको टिप्पणी

नेकपा (एमाले) लोकतन्त्रलाई जीवन पद्धतिकै रूपमा आत्मसात गर्ने पार्टी भएको नाताले निर्वाचन आयोगमा अद्यावधिक रूपमा दल दर्तागर्दै आएको छ। राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचनको प्रयोजनका लागि दल दर्ता गत असोजमा सम्पन्न केन्द्रीय कमिटी १०औं बैठकको निर्णयअनुसार भएको हो।

अहिलेको सरकार र यस सरकारले गरेको प्रतिनिधि सभा विघटन असंवैधानिक भएको स्पष्ट छ, र यसको संवैधानिक परीक्षण सर्वोच्च अदालतमा भइरहेको छ । यस्तो अवस्थामा निर्वाचन आयोगमा दल दर्ता गरिएको आधारमा फाल्गुन २१ को निर्वाचन सुनिश्चित भयो भन्नु भ्रमपूर्ण कुरा हो ।

यथार्थतामा वर्तमान सरकार न निर्वाचनतर्फ अग्रसर छ, न त निर्वाचनका लागि आवश्यक वातावरण निर्माण गर्ने कुनै संकेत देखिएको छ। बरु उल्टै सरकारका काम र क्रियाकलाप राजनीतिक दलहरुका गतिविधिलाई निरुत्साहित गर्ने र समाजमा अराजकता, भय र अशान्तिको वातावरण सिर्जना गर्नेमा लक्षित देखिन्छन् ।

यस्तो अवस्थामा, २३ र २४ गतेको विध्वंसात्मक घटनाका कारणले घाइते बनेको संविधानलाई पुनः क्रियाशील बनाउन र लोकतन्त्रलाई सही बाटोमा फर्काउन प्रतिनिधि सभाको पुनस्थापना अपरिहार्य भएको छ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलवार २२:४९