देउवाकै हस्ताक्षरमा पार्टी निर्धक्क निर्वाचनमा जान्छः कल्याण गुरुङ
९ मंसिर, काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले सभापतिकै हस्ताक्षरमा पार्टी निर्धक्क निर्वाचनमा जाने बताउनुभएकाे छ । केन्द्रीय कार्य समितिको बैठकमा आजसम्म विशेष र नियमित महाधिवेशनको प्रस्ताव आधिकारिक रुपमा नआएको बताउँदै उहाँले निर्वाचन अघि महाधिवेशन सम्भव नरहेकोले वर्तमान सभापतिकै हस्ताक्षरमा पार्टी निर्धक्क निर्वाचनमा जाने बताउनुभएकाे हाे ।
उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै विशेष महाधिवेशनले पार्टी सभापति, पदाधिकारी वा सदस्यलाई हटाउने व्यवस्था विधानको धारा १७ (२) मा कहिँ कतै नलेखिएको दाबी गर्नुभएकाे छ । उहाँले लेख्नुभएकाे छ, ‘साथीहरूले फोन गरेर सोध्नु हुन्छ– के विशेष महाधिवेशन मंसिरमा हुन्छ ?,’ गुरूङले लेख्नुभएकाे छ, ‘मैले भनेँ– बाहिर हल्ला चलेको जस्तो केही पनि छैन ।’
उहाँले भन्नसभएकाे छ, ‘विधानमा व्यवस्था भएको मापदण्ड अनुसार हस्ताक्षरहरूको सनाखत र प्रमाणीकरण पनि भई सकेको छैन । यसको लागि आवश्यक नियमावली र कार्यविधि पनि बनिसकेको छैन । पार्टीको केन्द्रीय कार्य समितिको बैठकमा छलफलको लागि औपचारिक प्रस्तावको रूपमा पनि आएको छैन । यस सम्बन्धमा पार्टीको केन्द्रीय कार्य समितिले कुनै निर्णय पनि गरिसकेको छैन । साथसाथै, पार्टीले २०८२ फाल्गुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सहभागी हुने निर्णय गरि सकेको छ । पार्टीले प्रतिनिधि सभा र राष्ट्रिय सभाको निर्वाचनमा सहभागी हुने सम्पूर्ण तयारीको काम सम्पन्न गर्नु पर्नेछ । पार्टी एकता कायम राख्नु छ र पार्टीलाई अझ बढी एकताबद्ध बनाउनु छ । यसैले पार्टीले अहिले विशेष महाधिवेशनमा अलमलिने सम्भावना कम देखिन्छ । यसर्थ, ढुक्क हुनु होस्, वर्तमान सभापतिज्यू कै हस्ताक्षरमा पार्टी निर्धक्क निर्वाचनमा जान्छ ।’
प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलवार १२:०२












