भ्रष्टाचारविरूद्ध सक्रिय गोगो फाउण्डेसनको अध्यक्षमा प्रणव भट्टराई
८ मंसिर, काठमाडौँ । भ्रष्टाचारविरूद्धको अभियानमा सक्रिय अशल शासन फाउण्डेसन (गोगो)को १७ औँ साधारणसभाबाट प्रणव भट्टराईको अध्यक्षतामा दुई वर्षका लागि नयाँ कार्यसमिति चयन भएको छ ।
निवर्तमान अध्यक्ष शर्मिला पराजुलीको अध्यक्षतामा मंसिर ६ गते शनिबार भएको साधारणसभाले भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । अध्यक्षमा निर्वाचित भट्टराई फाउण्डेसनको संस्थापक महासचिव हुनुहुन्छ ।
कार्यसमितिको उपाध्यक्षमा रेखा श्रेष्ठ, महासचिवमा विष्णुप्रसाद पोखरेल, सचिव उमंग मैनाली र कोषाध्यक्षमा सुरेन्द्र पौडेलले निर्वाचित हुनुभएको छ । यस्तै सदस्यहरूमा पोष्टबहादुर केसी, जानुका मैनाली, डा किरण चालिसे र शारदा केसीलाई निर्वाचित गरेको छ ।

भट्टराई नेतृत्वको कार्यसमितिले आगामी दुई वर्षसम्म सेवा गर्नेछ । साधारणसभामा परिवर्तनशील सन्दर्भहरूमा गोगो फाउन्डेसनको सान्दर्भिकताका बारेमा छलफल भएको थियो । साधारणसभा नेपालमा विकसित सामाजिक राजनीतिक वातावरण भित्र सुशासन, पारदर्शिता र भ्रष्टाचार विरोधी प्रयासहरूलाई प्रभावकारी प्रवर्द्धन गर्ने विषयमा महत्वपूर्ण छलफल भएको महासचिव पोखरेलले जानकारी दिनुभयो ।
सन् २००८ मा स्थापित फाउण्डेसनले सुशासनका लागि वकालत गर्दै आएको छ ।
प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार १५:४७












