देशलाई संकटबाट जोगाउन सामूहिक पहल अपरिहार्य : सन्तोष परियार
७ मंसिर, काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सन्तोष परियारले राष्ट्रिय संकट समाधानका लागि सबै शक्ति एक ठाउँमा नआए देश थप ठूलो संकटतिर धकेलिन सक्ने बताउनुभएकाे छ ।
आइतबार राष्ट्रिय सभागृहमा आयोजित एकता घोषणा सभामा परियारले देशलाई जोगाउन सामूहिक पहल अपरिहार्य भएको बताउनुभयाे ।
‘लामो समयदेखि बहुदलीय प्रजातन्त्र र गणतन्त्रका लागि सङ्घर्ष गर्यौँ । हामीसँग अहिले चारवटा संकट छ ।’ उहाँले भन्नुभयाे, पहिलो राष्ट्रियताको संकट छ । जेनजी विद्रोहपछि राष्ट्रियता ठूलो संकट देखिन्छ । दोस्रो लोकतन्त्रमाथि संकट छ । संविधान प्रदत्त लोकतान्त्रिक अधिकार खोसिने हो कि भन्ने खतरा छ । अर्को संविधानमाथि पनि धेरै संकट छ । मुर्झाएको छ । यसको संरक्षण गर्नु आवश्यक छ । चौथो आर्थिक संकट गहिरिएको छ । सङ्कटपूर्ण घडीमा हामीले सामूहिक बुद्धिमत्ता अपनाएनौँ भने यो देश थप संकटमा पर्न सक्छ।’
सरकार र नागरिकबीचको विश्वास कमजोर भएको उल्लेख गर्दै परियारले आफ्नो पुस्तामाथि परेको सबैभन्दा ठूलो चुनौती गुमेको विश्वास पुनः स्थापना गर्नु रहेको बताएउनुभयाे ।
प्रकाशित मिति : ७ मंसिर २०८२, आईतवार १४:१२












