७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मकर जितुमाया सुरी हाईड्रोपावरले बोलायो साधारण सभा

५ मंसिर, काठमाडौं। मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । कात्तिक २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले मंसिर २६ गते काठमाडौंको धुम्बाराहीमा रहेको सूर्य इभेन्टमा आफ्नो १७ औं वार्षिक साधारण सभा बोलाएको हो । सभा बिहान साढे १० बजेदेखि सुरू हुने छ ।

कम्पनीले सेयरधनीहरुका लागि लाभांश घोषणा नगरेकाले सोसँग सम्बन्धित कुनैपनि प्रस्ताव सभामा पेश हुनेछैन । सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने र प्रबन्धपत्र र नियमावलीमा गरिने संसोधन/थप उपर नियमनकारी निकाय वा कार्यालयबाट प्राप्त हुने निर्देशन बमोजिम प्रबन्धपत्र वा नियमावली संसोधन एवं परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै, सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात र सोही अवधिको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका संलग्न अनुसूचि उपर छलफल गरी पारित गर्ने र लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसकाे अर्थ मंसिर ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुले मात्रै कम्पनीको सभामा सहभागी हुन सक्नेछन् ।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार १४:१०