२८ मंसिर २०८२, आईतवार | Sun Dec 14 2025

निर्वाचनका लागि सेना परिचालन गर्न सुरक्षा परिषद्को सिफारिस

४ मंसिर, काठमाडाैँ । सुरक्षा परिषद्को बैठकले आउँदो फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनअघि सेना परिचालन गर्न मन्त्रिपरिषद्‌मा सिफारिस गर्ने निर्णय गरेको छ ।

बिहीबार रक्षामन्त्रीको जिम्मेवारी समेत सम्हाल्नुभएकी प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपालको संविधानको धारा २६६ को उपधारा (१) बमोजिम सेना परिचालन गर्ने निर्णय गरेको परिषद्का सदस्य सचिव एवं रक्षा मन्त्रालयका सचिव सुमनराज अर्यालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

dainiki.com

परिषद्ले आफ्नो आठौं वार्षिक प्रतिवेदनको मस्यौदामाथि छलफल गरी आवश्यक संशोधनसहित स्वीकृत गरेको छ । प्रतिवेदनलाई नेपालको संविधानको भाग २८ को धारा २६६ को उपधारा (२) बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्ने बैठकले निर्णय गरेको छ ।

उक्त बैठकमा राष्ट्रिय सुरक्षामा आउन सक्ने विविध चुनौती तथा अन्तराष्ट्रियस्तरमा देखापरेका पछिल्ला घटनाक्रमले राष्ट्रिय सुरक्षामा पार्नसक्ने प्रभाव तथा चुनौती र अपनाउनुपर्ने भावी रणनीतिको सम्बन्धमा समेत छलफल भएको थियो ।

बैठकमा प्रधानमन्त्री कार्कीसहित गृहमन्त्री ओम प्रकाश अर्याल, मुख्यसचिव एक नारायण अर्याल, प्रधान सेनापति अशोक राज सिग्देल र रक्षासचिव अर्यालको सहभागिता थियो ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार १८:१८