प्रधानमन्त्री कार्कीलाई फिर्ता बोलाउन माग गर्दै राष्ट्रपति कार्यालयमा २३ जेनजी समूहको ज्ञापनपत्र
४ मङ्सिर, काठमाडौँ । जेनजीका विभिन्न २३ समूहले वर्तमान सरकार विघटन गरेर नयाँ सरकार गठनको माग गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेललाई बिहीबार ज्ञापनपत्र बुझाउँदै उनीहरूले सुशीला कार्की नेतृत्वको सरकारलाई फिर्ता बोलाएर आफूहरूको नेतृत्वमा नयाँ सरकार गठनका लागि मध्यस्थता गरिदिन आग्रह गरेका छन् ।
उनिहरूले ज्ञापनपत्रमार्फत् वर्तमान सरकारबाट विद्रोही पक्षले मूलतः मुलुकमा भएका ठूला भ्रष्टाचारका प्रकरणमा संलग्नलाई कारबाही, प्रत्यक्ष जननिर्वाचित प्रधानमन्त्रीका लागि संविधान संशोधन, विद्रोहमा भएको नरसंहारमा संलग्नमाथि कारबाही, जेनजी विद्रोहका घाइतेको उपचार र जेनजी विद्रोहका सहिद परिवारलाई उचित क्षतिपूर्ति र भरणपोषणको अपेक्षा गरेको बताएका छन् ।
तर, विद्रोहीका न्यूनतम अपेक्षा पूरा गर्नुको सट्टा सबै अपेक्षालाई बेवास्ता गर्दै केवल एक थान चुनाव मात्र गराउने गरी सरकार दिशाहीन अवस्थामा रहेको उनीहरूको आरोप छ ।
‘यो विद्रोह र शहादत केवल अर्लि इलेक्सनका लागि भएको थिएन । तसर्थ, हामी उक्त विद्रोहमा संलग्न जेनजीका २३ एलाइन्स, घाइते र सहिद परिवार यो सरकारले तत्काल विद्रोही पक्षका माग सम्बोधन गर्नु पर्दछ । अन्यथा यदि यो सरकारले विद्रोही पक्षका माग पूरा गर्न सक्तैन भने यो सरकारलाई फिर्ता बोलाई हाम्रो नेतृत्वमा नयाँ सरकार गठनका लागि मध्यस्थताको भूमिका निर्वाह गर्न सम्माननीयज्यूसमक्ष निवेदन गर्दछौं’, राष्ट्रपतिलाई बुझाइएको ज्ञापनपत्रमा भनिएको छ, ‘अन्यथा यस सरकारको विरुद्धमा अर्को शान्तिपूर्ण आन्दोलन तथा दबाब कार्यक्रम हुने व्यहोरा सम्माननीयज्यूलाई यसै ज्ञापनपत्रमार्फत् सामूहिक रूपमा जानकारी गराउँदछौं ।’
जेन्जी नेशनल फ्रन्ट लाइनर, जेन्जी स्पार्क, एनटेक जेन्जी, ऋणी एसोसियसन नेपाल, जेन्जी वाई यूनाइटेड, जेन्जी सभा, जेन्जी पार्लियामेन्ट, जीबीबी ग्रुप, जीयूपीसी ग्रुप, जेबाइएन ग्रुप, जेन्जी यूनाइटेड, जेन्जी २।०, रियल जेन्जी, जेन्जी वाई ग्रुप, जेन्जी एलायन्स, नेपाल जेन्जी रिभ्यूलेसन ९एनजीआर०, इक्वीटि नेपाल, समता जेन्जी, अल नेशन जेन्जी, स्वतन्त्र जेन्जी नेपाल, डिजिटल टास्क फोर्स जेन्जी ग्रुप, जेन्जी एकता मञ्च, र जेन्जी मुभमेन्ट नेपालले संयुक्त रूपमा राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाएका हुन् ।
यस्तो छ ज्ञापनपत्रः

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार १५:५८












