१६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026

नारायणी डेभलपमेन्ट बैंकले ६ लाख २१ हजार कित्ता अवितरित हकप्रद सेयर लिलामीमा राख्ने

३ मंसिर, काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले अवितरित हकप्रद सेयर लिलामीमा राख्ने भएको छ । बैंकले गत असोज २ गतेदेखि कात्तिक ९ गतेसम्म बिक्री खुला गरी आवेदन माग गरिएकोमा आवेदन नपरेको संस्थापक समूहतर्फको ६ लाख ३ हजार १६२ कित्ता र सर्वसाधारण समूहको १८ हजार ४४४ कित्ता गरी कुल ६ लाख २१ हजार ६०६ कित्ता सेयर मंसिर ११ गतेदेखि लिलामीमार्फत बिक्री गर्न लागेको हो ।

बैंकले सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकेको छ। सेयर किन्नका लागि बोलपत्र पेश गर्दा कम्तीमा १०० कित्ताका लागि र बढीमा सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ। बोलपत्र आवेदन पेश गर्ने अन्तिम मिति मंसिर २५ गते रहेको छ ।

लिलामी सेयरमा इच्छुक जोकोही व्यक्ति, संस्था वा कम्पनीले बोलपत्र पेस गर्न सक्ने धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडले जनाएको छ। बोलपत्र काठमाण्डौको नक्सालस्थित ग्लोबल आईएमई क्यापिटलको कार्यालय तथा ग्लोब आईएमई बैंकका शाखाहरु विराटनगर, वीरगन्ज, हेटौँडा, नारायणगढ, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा बुझाउन सकिनेछ ।

प्रकाशित मिति : November 19, 2025 at 12:02 pm