२३.८२ प्रतिशतले घट्यो नेपाल टेलिकमको नाफा, प्रतिसेयर आम्दानीमा पनि गिरावट
१ मंसिर, काठमाडाैं। नेपाल टेलिकमले चालु आवको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले समीक्षा अवधिसम्म १ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा कमाएकाे छ । यो अघिल्लो आवको सोही अवधिसम्मको तुलनामा २३.८२ प्रतिशतले कम हो । अघिल्लो आवमा कम्पनीले १ अर्ब ७३ करोड रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।
कम्पनीले यो अवधिमा ९ अर्ब ४७ करोड रुपैयाँ बराबरकमो कुल आम्दानी गरेको छ । यो अघिल्लो आवको सोही अवधिसम्मको तुलनामा ५.८९ प्रतिशतले कम हाे । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले १० अर्ब ६ करोड रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको कुल चालु सम्पत्ति ५० अर्ब ७६ करोड रुपैयाँ र कुल चालु दायित्व २१ अर्ब ७८ करोड रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ३८.६६ रुपैयाँबाट घटेर २९.४५ रुपैयाँमा सीमित बनेको छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ ५०५.७५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ७०२.०४ रुपैयाँ, तरलता अनुपात २.३३ प्रतिशत र पीई अनुपात २८.७२ गुणा कायम भएको छ ।
प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार १०:४७













