राष्ट्र बैंकले ५० रुपैयाँका नयाँ नोट छपाइका लागि चिनियाँ कम्पनीसँग गर्यो सम्झौता
२७ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका नयाँ नोट छपाइका लागि चिनियाँ कम्पनीसँग सम्झौता गरेको छ। नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका अनुसार बैंकले ४२ करोड थान नोटको डिजाइन, छपाइ र आपूर्तिका लागि चाइना बैंकनोट प्रिन्टिङ एण्ड मिण्टिङ कर्पोरेसन बेइजिङसँग सम्झौता गरेको हो।
राष्ट्र बैंकले गत साउन ९ गते (२५ जुलाई २०२५) दि राइजिङ नेपाल राष्ट्रिय दैनिक र बैंकको वेबसाइटमार्फत ५० दरका नयाँ बैंक नोट छपाइका लागि बोलपत्र आह्वान गरेको थियो । सोही बोलपत्र प्रक्रियामा सहभागी कम्पनीहरूमध्ये सबैभन्दा न्युनतम मूल्य प्रस्ताव गर्ने चाइना बैंक नोट प्रिन्टिङ एण्ड मीन्टिङ कर्पोरेसनलाई छनोट गरिएको हो ।
बोलपत्र प्रक्रियापछि बैंकले सार्वजनिक खरिद ऐन, २०६३ र खरिद निर्देशिका, २०६७ बमोजिम सम्पूर्ण प्रक्रिया पूरा गरी सम्झौता सम्पन्न गरेको जनाएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार १४:५७












