८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

भारतले सहमति नदिँदा महाकाली नदीमाथि झोलुङ्गे पुल निर्माण हुन सकेन

११ चैत, वैतडी । भारतले सहमति नदिँदा महाकाली नदीमा झोलुङ्गे पुलको निर्माण कार्य अघि बढ्न सकेको छैन । पुल निर्माणका लागि ठेक्का सम्झौता भएको एकवर्षभन्दा बढी भइसक्दासमेत भारतले सहमति नदिँदा बैतडीको पञ्चेश्वरमा निर्माण हुने भनिएको झोलङ्गे पुलको निर्माण कार्य अघि नबढेको हो ।

महाकाली नदीमाथि झोलुङ्गे पुल निर्माणका लागि ठेक्का सम्झौता भएपछि खुशी भएका बैतडीको तल्लोसोराड क्षेत्रका बासिन्दा निरास भएका स्थानीय वीरेन्द्र महताले बताउनुभयो । भारतीय बजारमा आवतजावत गर्दा डुंगाको जोखिमपूर्ण यात्रा अन्त्य हुने विश्वास गरे पनि पुल निर्माणको काम अहिलेसम्म अघि नबढ्दा स्थानीयवासी निराश भएका जानकारी दिंदै उहाँले भन्नुभयो, “डुंगाको जोखिमपूर्णयात्रा अन्त्य हुने आशामा थियौँ तर भारत सरकारको ढिलासुस्तीले चिन्ता बढाएकोे छ ।”

स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागअन्तर्गतको झोलुङ्गे पुल डिभिजनले भारतसँग सीमा जोडिएको महाकाली नदीमा तीन वटा पुल निर्माणका लागि गत वर्ष नै ठेक्का सम्झौता गरेको थियो । दार्चुलाको लाली र तिग्रम तथा बैतडीको पञ्चेश्वरमा झोलुङ्गे पुल निर्माणका लागि ठेक्का सम्झौता भए पनि पञ्चेश्वरमा भने काम नै शुरु हुन नसकेको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताउनुभयो ।

रु एक करोड ३३ लाखको लागतमा १२४ मिटर लामो पुल निर्माणको ठेक्का सम्झौता भएको हो । पञ्चेश्वरमा महाकाली नदीमाथि झोलुङ्गे पुल निर्माणका लागि भारतको केन्द्रीय सरकारबाट नो अब्जेक्सन लेटर पाए पनि प्रान्तीय सरकारबाट सहमति आउन बाँकी रहेको झोलुङ्गे पुल डिभिजनका योजना प्रमुख गुरुप्रसाद शर्माले बताउनुुभयो ।

प्रकाशित मिति : ११ चैत्र २०७४, आईतवार १४:२१