आइएमई लाइफले कमायो १५ करोड ८३ लाख रुपैयाँ नाफा, यस्ता छन् अन्य सूचक
२५ कात्तिक, काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको पहिलो ३ महिनासम्ममा इन्स्योरेन्सले १५ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.१७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १४ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा कम्पनीकाे खुद बीमाशुल्क आर्जन ३१.९६ प्रतिशतले बढेर १ अर्ब ५३ करोड ६३ लाख पुगेकाे छ । कम्पनीको कुल आम्दानी २५.३३ प्रतिशतले बढेर १ अर्ब ९८ करोड ३ लाख रुपैयाँ पुगेको छ भने कुल खर्च पनि २६.९६ प्रतिशतले बढेर १ अर्ब ८२ करोड २० लाख रुपैयाँ पुगेको छ।
५ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको सेयर प्रिमियम ५२ करोड ३८ लाख रुपैयाँ, महाविपत्ती कोषमा २७ करोड ८६ लाख रुपैयाँ, रिटन्ड अर्निङ्गमा ८६ करोड २६ लाख रुपैयाँ र अन्य इक्विटीमा २० करोड ५३ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा इन्स्योरेन्सको प्रतिसेयर आम्दानी १ रुपैयाँ ६ पैसा बढेर १२ रुपैयाँ ६७ पैसा पुगेको छ। असोज मसान्तसम्ममा इन्स्योरेन्सको प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ४१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३३.५६ गुणा रहेको छ।
प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलवार १०:०६












