२१ मंसिर २०८२, आईतवार | Sun Dec 7 2025

नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त

२४ कात्तिक, काठमाडौँ । नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त हुनुभएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई महानिरीक्षक पदमा नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिनुभयो । कार्कीले करिब २८ महिना प्रहरीको नेतृत्व गर्नुहुनेछ ।

dainiki.com

वर्तमान प्रहरी प्रमुख चन्द्रकुवेर खापुङले अवकाश पाएपछि कात्तिक २७ बाट कार्कीले नेतृत्व सम्हाल्नुहुनेछ । प्रहरीमा महानिरीक्षक नियुक्तिको विषयमा थुप्रै चर्चा र परिचर्चा भएका थिए । महानिरीक्षकको प्रतिस्पर्धामा राजन अधिकारी, डा मनोज केसी र शिद्धिविक्रम शाह प्रतिस्पर्धामा रहनुभएको थियो । मन्त्रिपरिषद्ले प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा हुँदाको वरियता अनुसार नै निर्णय गरेको बुझिएको छ । प्रहरीको ३० वर्षे सेवा अवधिको प्रतिबन्ध संशोधन भएको खण्डमा डा मनोज केसीले पनि प्रहरीको नेतृत्व गर्ने अवसर प्राप्त गर्नुहुनेछ ।

भदौ २३ र २४ को जेनजी प्रदर्शनको घटना जाँचबुझका लागि गठित आयोगले कार्कीसहित बढी क्षति भएका कार्यालयका इन्चार्जहरूलाई उपत्यका छाड्न प्रतिबन्ध लगाएको थियो । यससँगै जाँचबुझ आयोग र प्रहरीको बीचमा टकराब बढ्ने देखिएको छ । आयोगले २ दिनमा जवाफ माग्दा नदिनुभएको प्रहरी महानिरीक्षक खापुङ पनि कार्कीलाई प्रमुख बनाउने पक्षमा हुनुहुन्थ्यो ।

कार्की २०५४ साल चैत १८ गते प्रहरी निरीक्षकमा भर्ना हुनुभएको थियो । त्यसपछि २०६६ साल मंसिर २६ गते प्रहरी नायब उपरीक्षकमा बढुवा हुनुभएको थियो । कार्की प्रहरी उपरीक्षकमा २०७४ साउन १९ गते बढुवा हुनुभएको थियो । त्यस्तै २०७९ सालको साउन ३ गते उहाँ प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा हुनुभएको थियो । २०८१ जेठ १३ गते प्रहरी नायब महानिरीक्षकमा बढुवा हुनुभएको उहाँ २०८२ वैशाख ११ गते प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा हुनुभएको थियो । कार्की २०८२ कात्तिक २४ गते प्रहरी महानिरीक्षकमा बढुवा हुनुभएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार १९:५१