दुई वाणिज्य बैंक राष्ट्र बैंकको कारवाहीमा, कुन–कुन परे ?
२४ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई वाणिज्य बैंकमाथि कारबाही गरेको छ। बैंकले आज एक सूचना जारी गर्दै चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नियम उल्लंघन गरेको भन्दै कुमारी बैंक र प्राइम कमर्सियल बैंकलाई कारबाही गरिएको जानकारी दिएको हो। यी दुवै बैंकलाई पहिलो पटकका लागि सचेत गराइएको छ।
राष्ट्र बैंकको एकीकृत निर्देशन २०८१ अन्तर्गतको इ.प्रा. निर्देशन नं. १२/०८१ को बुँदा नं. ९ को उपबुँदा नं. २ (ङ) (५) अनुसार, कालोसूचीमा रहेका व्यक्ति, फर्म, कम्पनी वा संस्थाले सो सूचीबाट फुकुवा नभएसम्म आफ्नो खातामा रकम जम्मा गर्नेबाहेक अन्य कुनै पनि बैंकिङ कारोबार गर्न नपाउने व्यवस्था छ। तर कुमारी बैंकले उक्त व्यवस्थाको पालना नगरेको हुँदा ऐन, २०५८ को दफा १०० को उपदफा १ (क) का आधारमा राष्ट्र बैंकले बैंकलाई सचेत गराएको छ।
यसैगरी, प्राइम कमर्सियल बैंकले पनि कर्जा वर्गीकरण र जोखिम भार गणनामा त्रुटि गरेको पाइएको छ। निरीक्षणका क्रममा भाखा नाघेका कर्जाहरूलाई वर्गीकरण नगरेको र जोखिम भार गणना गर्दा क्यापिटल एडिक्वेसी फ्रेमवर्क–२०१५ अनुसार गणना नगरेको देखिएको हो। यसका कारण बैंकका प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैंक ऐन, २०५८ अनुसार सचेत गराइएको छ।
प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार ११:३४












