विद्युत बिक्री आम्दानी घटेपछि मोदी इनर्जीको नोक्सानी बढ्यो
२४ कात्तिक, काठमाडौं । मोदी इनर्जी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ३१ लाख रुपैयाँ नोक्सानी व्यहोरेको कम्पनीले यस आर्थिक वर्षको सोही अवधिसम्ममा नोक्सानी बढाएर ३ करोड ११ लाख रुपैयाँ पुर्याएको छ।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १५ करोड ८२ लाख रुपैयाँबाट घटेर १० करोड ८६ लाख रुपैयाँमा सीमित भएको छ। त्यस्तै, कम्पनीको कुल नाफा १४ करोड १७ लाख रुपैयाँबाट घटेर ८ करोड ९४ लाख रुपैयाँमा झरेको छ भने सञ्चालन मुनाफा १४ करोड २ लाख रुपैयाँबाट घटेर ८ करोड ८३ लाख रुपैयाँमा सीमित भएको छ। समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च पनि २८.०७ प्रतिशत घटेको छ।
२ अर्ब ९० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष १ अर्ब १६ करोड रुपैयाँ ऋणात्मक छ। कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ६८ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ५९ रुपैयाँ ७९ पैसा रहेको छ।
प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार ०९:४४













