२६ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025

देश जलाउनेहरूले नै सरकार चलाइरहेका छन्ः अध्यक्ष ओली

२३ कात्तिक, काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले सरकारमा रहेकाहरूले नै जेनजी आन्दोलनको नाममा देश जलाउने काम गरेको आरोप लगाउनुभएको छ ।

राष्ट्रिय युवा संघ, नेपालको केन्द्रीय कमिटी बैठकमा बोल्दै उहाँले जेनजी आन्दोलनमा सडकमा उफ्रिनेहरूले नै देश जलाउने काम गरेको आरोप लगाउनुभएको हो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘देश जलाउने पनि तिनै, चलाउने पनि तिनै, यस्तो तमासा भएको छ’ ।

यस्ता कार्यका विरुद्ध सडकमा उत्रिनु पर्ने ओलीले बताउनुभयो । एमाले तोडफोड र आगो लगाउन सडकमा जाने नभई देशमा शान्ति, संविधान र लोकतन्त्र चाहियो भनेर सडकमा जोन उहाँले स्पष्ट पार्नुभयो । एमालेले अब प्रशासनसँग अनुमति लिएर आन्दोलन नगर्ने उहाँले चेतावनी दिनुभयो । ‘तपाईँहरूको विरोध गर्न अब तपाईँहरूसँग अनुमति माग्न आउँदैनौँ’, ओलीले भन्नुभयो ।

आगो लगाउने र लुटपाट गर्नेलाई छाड्ने प्रशासनले एमालेको शान्तिपूर्ण प्रदर्शनलाई रोक लगाउने र स्थानहद तोक्ने काम गरेको भन्दै उहाँले आपत्ति जनाउनुभयो । शान्तिपूर्ण आन्दोलन संवैधानिक अधिकार भएको बताउँदै संविधानको अधिकारलाई सिडिओको आदेशले नकाट्ने ओलीले दाबी गर्नुभयो । लोकतन्त्र फर्काइ छाड्ने प्रतिवद्धताका साथ एमाले सडकमा उत्रिने ओलीले बताउनुभयो ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आईतवार १७:२२