वाणिज्य बैंकको नाफा १३ अर्ब १४ करोडः पाँच बैंकले बढाए, कुनको कति ?
२१ कात्तिक, काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा २० वाणिज्य बैंकहरुले १३ अर्ब १४ करोड ९८ लाख २३ हजार खुद नाफा कमाएका छन् । गत आवको सोही अवधिमा यी बैंकहरुले १६ अर्ब १८ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।
यस अवधिमा १५ बैंकको नाफा घटेको छ भने ५ बैंकको मात्रै बढेको छ । याे अवधिमा ग्लोबल आइएमई बैंकले सर्वाधिक नाफा कमाएकाे छ । तीन महिनामा बैंकले १ अर्ब ८५ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा २२.९१ प्रतिशत धेरै हो । गत वर्ष बैंकले १ अर्ब ५१ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
दोस्रो नम्बरमा नबिल बैंक रहेकाे छ । याे अवधिमा बैंकले १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ आर्जन गरेको छ । तर, उक्त नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा भने १४.५७ प्रतिशतले कम हो ।
प्राइम बैंक समिक्षा अवधिमा १ अर्ब २५ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको छ । याे नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा भने २.२० प्रतिशतले कम हो । एभरेष्ट बैंकले १ अर्ब १७ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । याे नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा याे नाफा ४.५७ प्रतिशतले बढी हाे । साथै, तीन महिनामा कुमारी बैंकले १ अर्ब ५ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । याे नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २ प्रतिशतले घटेकाे हाे ।
यस अवधिमा सर्वाधिक नाफा बढाउनेमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ । बैंकले आफ्नाे नाफा २९५ प्रतिशतले बढाएर ५९ करोड ८७ लाख रुपैयाँ पुर्याएकाे छ ।
पहिलो त्रैमाससम्मको अवधिमा एनएमबी बैंकको नाफा २० प्रतिशतले घटेर ९१ करोड ५९ लाख कायम भएकाे छ । त्यस्तै, यस अवधिमा हिमालयन बैंकको नाफा ३ प्रतिशतले घटेर ७० करोड २८ लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा १९.७२ प्रतिशतले घटेर ६९ करोड २१ लाख, नेपाल बैंकको नाफा २.३१ प्रतिशतले घटेर ५८ करोड ८२ लाख, प्रभु बैंकको नाफा ४६.३३ प्रतिशतले घटेर ५५ करोड ८४ लाख, नेपाल एसबिआई बैंकको नाफा ३८.४३ प्रतिशतले घटेर ५० करोड १५ लाख र सानिमा बैंकको नाफा १३ प्रतिशतले बढेर ४५ करोड ४९ लाख रुपैयाँ पुगेको छ ।
यता, माछापुच्छ्रे बैंकको नाफा ४१ करोड ७९ लाख, लक्ष्मी सनराइजको नाफा ३३ करोड २३ लाख, सिद्धार्थ बैंकको नाफा ३२ करोड ४० लाख, एनआईसी एशिया बैंकको नाफा १२ करोड २१ लाख, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ४ करोड ५० लाख र कृषि विकास बैंकको नाफा ५७ लाख ३८ हजार रुपैयाँ रहेको छ ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा १ वाणिज्य बैंक नोक्सानीमा रहेको छ। सो अवधिसम्ममा सिटिजन्स बैंक इन्टरनेसनल २२ करोड ४ लाख रुपैयाँ नोक्सानीमा पुगेको हो। गत आर्थिक वर्षको यसै अवधिसम्ममा बैंकले १९ करोड ८२ लाख रुपैयाँ यस्तो नाफा कमाएको थियो।
प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार १४:१४












