माधव नेपाललाई रामकुमारी झाँक्रीकाे कटाक्षः अन्तिम कर्मको लागि धन्यवाद !
२१ कात्तिक, काठमाडौं । रामकुमारी झाँक्रीले नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपाललाई सम्बोधन गर्दै आफुलाई गरेको कारवाही प्रति कटाक्ष गर्नुभएकाे छ ।
सामाजिक सञ्जालमा लेख्दै झाँक्रीले पार्टी एकीकरणको अन्तिम समयमा गरेको अर्थहीन कारवाहीप्रति कटाक्ष गर्नुभएकाे हाे । कारबाहीको पत्रप्रति झाँक्रीले व्यंग्य गर्दै नेपाललाई ‘आफैंलाई लाज हुने कारबाही त नगरेको भए पनि हुने नि ’ भन्नुभएकाे छ । साथै, उहाँले नेपाललाई बाँकी जीवनका लागि शुभकामना दिदै आफुले सधै अभिभावकको रुपमा सम्झिने उल्लेख गर्नुभएकाे छ ।
झाँक्रीले सामाजिक सञ्जालमा लेख्नुभएकाे छ, ‘प्रिय कमरेड माधव अभिवादन ! आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ? केही अर्थ छ र अब पनि कारबाहीको ? लोकले के भन्ला भन्ने पनि लागेन र ? तपाईं सबै कालखण्ड गरेर १९ वर्ष पार्टी प्रमुख बाँकी समय पार्टी प्रमुखलाई चलाउने र नियन्त्रण गर्ने जिम्मेदारीमा बसेर काम गर्नुभयो। यो अन्तिम घटनाले तपाईंको इतिहासलाई फेरि बल्झायो। बिर्सेकाहरूले सबै घटना स्मृतिमा लिने भए ।’
उहाँले अगाडि लेख्नुभएकाे छ, ‘जिन्दगीमा के लानु छ कमरेडरु समाज र देशको लागि जीवनरजवानी अर्पण गरेको व्यक्तिले। लाने त यति त हो- एउटा मिठो वा तितो स्मृति, चिया पसलमा पुग्दा बोल्ने दुईजना मान्छे। आफ्नै मलामी त कसले पो देख्छ र ? हार्दिक धन्यवाद यो अन्तिम कर्मको लागि। बाँकी जीवनको सुखद होस्, परिवारमा शान्ति र सुस्वास्थ्यको हार्दिक शुभकामना। तपाई जहाँ रहे पनि हाम्रो अभिभावको हो। मैले यसरी सधैँ सम्झने छु।’
प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार १२:५७












