२६ सय नाघ्यो सेयर बजार, काराेबार रकम भने घट्याे
१९ कात्तिक, काठमाडौँ । साताको चौंथो कारोबारकाे दिन बुधबार सेयर बजारमा सुधार आएको छ । बुधबार नेप्से १२.१७ अंकले बढेर २६०७.४२ को विन्दुमा कायम भएको हो । यस दिन ३१२ कम्पनीको ९२ लाख १८ हजार ८१० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६८ करोड १९ लाख २२ हजार रुपैयाँको कारोबार भएको छ ।
१४९ कम्पनीको मूल्य बढ्दा ९० को घट्यो भने १२ को स्थिर रह्यो । यस दिन अधिकांश समूहका सूचक बढेका छन् । फाइनान्स सबैभन्दा धेरै ३.४१ प्रतिशत बढ्यो । मालिबुङ इनर्जीको सेयरमा सकारात्मक सर्किट लागेको छ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक ७.४८ प्रतिशत घटेको छ। बुधबार यूनियन हाइड्रोपावरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३८ करोड ५५ लाख ४५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार १५:२३












