केपी ओलीको संरक्षणमा जेल जानबाट जोगिएका पासाङ शेर्पा पक्राउ
१८ कात्तिक, काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको संरक्षण जेल जानबाट जोगिदै आएका एमाले केन्द्रीय सदस्य एवं जनजाति महासंघका अध्यक्ष पासाङ शेर्पा पक्राउ परेका छन । एक वर्ष कैद भुक्तान गर्नुपर्ने फरार अभियुक्त शेर्पा यसअघि ओलीको संरक्षणमा जेल जानबाट जोगिँदै आएका थिए ।
पछिल्लो दिनमा ओली गुण्डु पुगेपछि शेर्पा सुरक्षामा खटिएका थिए । तिहारको दिनमा समेत उनी ओलीको सुरक्षा तैनाथ थिए । तिनै शेर्पालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँकाका प्रवक्ता एसपी पवन भट्टराईले दैनिकीसँग कुरा गर्दै शेर्पा कैद भुक्तानका लागि पक्राउ परेको र काठमाडौँ प्रहरीको हिरासतमा रहेको पुष्टि गर्नुभयो । प्रहरीले शेर्पालाई धुम्बाराहीबाट पक्राउ गरेको हो । बुधबार अदालत पेश गरेर कारगारा चलान गरिने प्रहरीले जनाएको छ ।

शेर्पाविरुद्धको बहुविवाह मुद्दामा उच्च अदालत पाटनले गत वर्ष जिल्ला अदालतको आदेश सदर गर्दै शेर्पालाई दोषी ठहर गरेको थियो । पासाङकी श्रीमती करिश्मा खरेलको मुद्दामा दोषी ठहर गर्दै जिल्ला अदालतले एक वर्ष कैद र पाँच हजार जरिवानाको सजाय सुनाएको थियो ।
जिल्लाको आदेशका विरूद्धमा उच्च अदालत पुगेका शेर्पा मुद्दा हारेपछि एमाले अध्यक्ष ओलीको अघिपछि लागेर हिड्ने गरेका थिए । जेनजी प्रदर्शन र विद्रोहपछि भएको एमालेको केन्द्रीय कमिटी बैठकमा ओलीविरुद्ध बोल्ने सबै विदेशी दलाल भएको र उनीहरूलाई कारबाही गर्नुपर्ने भन्दै उनले भाषण गरेका थिए । शेर्पा संविधानसभा सदस्य हुँदा दलाइ लामालाई भेटेको भनेर विवादित थिए ।
२०८१ असोज ६ मा उच्च अदालतले जिल्ला अदालत काठमाडाैँले २०७९ चैत २३ मा गरेको फैसला सदर गरेको थियो । शेर्पाकी श्रीमती करिश्मा खरेलले शेर्पा र उनकी अर्की श्रीमती पूजा परियारविरुद्ध जिल्ला अदालत काठमाडाैंमा बहुविवाह मुद्दा दायर गरेकी थिइन् । साे मुद्दामा जिल्ला अदालतले पासाङ शेर्पा र करिश्मा खरेलबीच २९ असार २०६२ मा र पासाङ शेर्पा र पूजा परियारबीच २८ मंसिर २०६३ मा विवाह भएको ठहर गरेको थियो । जिल्लाको फैसलामा भनिएको छ, ‘पासाङ शेर्पाले निजकी पत्नी यी जाहेरवालासँगको दाम्पत्य सम्बन्ध कायम रहेकै अवस्थामा पूजा परियारसँग विवाह गरी मुलुकी ऐन बिहेबारीको महलको ९ नम्बरको कसुर गरेको देखिँदा निजलाई ऐ. को दफा १० बमोजिम १ वर्ष कैद र रु. ५ हजार जरिवाना हुने ठहर्छ ।’

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलवार २०:२१












