२५ मंसिर २०८२, बिहीबार | Fri Dec 12 2025

राष्ट्र बैंकले २ अर्ब ६० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

१७ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको २ अर्ब ६० करोड रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई आफूले लिन चाहेको रकम र ब्याजदर प्रस्ताव गर्न आग्रह गरेको हो ।

केन्द्रीय बैंकले सो रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्न लागेकाे हो ।  ‘क’ वर्गका वाणिज्य बैंकमा २ अर्ब ८ करोड, ‘ख’ वर्गका बैंकले ३९ करोड र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा १३ करोड बराबरको रकम मुद्दती निक्षेपमा राख्न लागेकाे राष्ट्र बैंकले जनाएकाे छ ।

मुद्दती निक्षेपमा २०२५ नोभेम्बर ९ देखि २०२६ नोभेम्बर ९ सम्म ३६६ दिनका लाग राखिने समेत राष्ट्र बैंकले जानकारी दिएको छ । निक्षेपमा रकम लिन चाहने बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने, राष्ट्र बैंकबाट तोकिएको न्युनतम पुँजीकोष कायम गरेको हुनुपर्ने, निष्क्रिय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशतभन्दा कम हुनुपर्ने, खुद तरल सम्पती केन्द्रिय बैंकले तोकेको न्यूनतम सीमा कायम गरेको हुनुपर्ने, कर्जा÷निक्षेप अनुपात समय–सयममा निर्धारण गरिएको सीमाभित्र रहेको हुनुपर्ने र निकटतम अघिल्लो आर्थिक वर्षमा खुद मुनाफामा रहेको हुनुपने सर्त राष्ट्र बैंकको छ ।

त्यसैगरी निक्षेप लगानी गरिने संस्थाको कुनै पनि सञ्चालक वा प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई राष्ट्र बैंकले जरिबाना गरेको अवस्थामा त्यस्तो जरिबाना गरिएका सञ्चालक वा सीईओ उक्त संस्थामा कायम नरहेको हुनुपर्ने र यदि कायम रहेको भए जरिबाना भुक्तान गरेको मितिले ६ महिना अवधि पूरा भएको हुनुपर्ने, शिघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्ने पनि सर्त छ ।

त्यस्तै राष्ट्र बैंकको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको हुनुपर्ने भएको भए फुकेवा भएको ६ महिना अवधि पूरा भएको हुनुपर्ने तथा सर्वसाधारणका लागि छुट्याइएको शेयर जारी गरिसकेको हुनुपर्ने शर्त केन्द्रिय बैंकको छ । उक्त मुद्दति राख्न चाहने बैंक वित्त संस्थाले असोज १० भित्रै राष्ट्र बैंकमा ब्याजदर प्रश्ताव पठाउन भनिएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार १०:४४