निषेध, प्रतिशोध र घृणालाई त्यागेर एमालेलाई सुदृढ बनाउन सकिन्छः सचिव भट्टराई
१५ कात्तिक, काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले निषेध, प्रतिशोध र घृणालाई त्यागेर एमालेलाई सुदृढ र एकताबद्ध बनाउन सकिने बताउनुभएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले फेसबुक मार्फत एमाले निर्माणका योगदान गरेका तर बाहिर भएकाहरूलाई पार्टीमा फर्किन गरेको अनुरोधपछि भट्टराईले फेसबुक मार्फत नै टिप्पणी गर्दै यस्तो बताउनुभएको हो ।
उहाँले एकताका लागि चार आधार समेत प्रस्तुत गर्नुभएको छ ।
स्वागतयोग्य आह्वान
नेकपा एमालेको निर्माणमा योगदान गरेका कमरेडहरूलाई पुन: यो आन्दोलनमा समाहित हुनका लागि पार्टी अध्यक्षले गर्नु भएको आह्वान स्वागतयोग्य र समय सान्दर्भिक छ ।
जनताको बहुदलीय जनवादको मार्ग निर्देशन र नेकपा एमालेको अगुवाईमा सिगों वाम आन्दोलनलाई एकताबद्ध बनाउनु आजको राष्ट्रिय कार्यभार हो ।
जवजको सिद्धान्त “शान्तिपूर्ण, वैधानिक र प्रतिस्पर्धाको माध्यमबाट नेपाली समाजको प्रगतिशील रूपान्तरणमा” बिश्वास गर्नेहरूको एउटा केन्द्र बन्नै पर्छ त्यो एमाले हो । निषेध, प्रतिशोध र घृणालाई त्यागेर सहकार्य र सहअस्तित्व मार्फत नेकपा एमालेलाई सुदृढ र एकताबद्ध बनाउन सकिन्छ ।
एकताको आधार
-जनताको बहुदलीय जनवादलाई सिद्धान्तका रूपमा स्वीकार गर्ने ।
-पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीको योगदान र निरन्तरतालाई स्वीकार गर्ने ।
-२०८२ भाद्र २३ र २४ पछि उत्पन्न परिस्थितिको गंभीर र बस्तुनिष्ठ समिक्षा गर्ने र पार्टीको बहुआयामिक पुनर्गठन गरी आगामी प्रतिस्पर्धामा नेकपा एमालेलाई विजयी बनाउने ।
-नेकपा एमालेको नेतृत्वमा आर्थिक/ सामाजिक रूपान्तरण गरी सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माण गर्ने ।
कमरेडहरू, आउनुहोस यिनै मान्यतामा हातेमालो गरौ ।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार ०८:१२












