ओली निवास निर्माणमा चन्दा संकलन नगरिने, यस्तो छ महेश बस्नेतको अपिल
७ कात्तिक, काठमाडौँ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीका लागि निर्माण हुने आवसका लागि चन्दा संकलन नगरिने स्पष्ट पार्नुभएको छ । सामाजिक सञ्जाल मार्फत अपिल गर्दै उहाँले चन्दाका लागि नआउन पनि अनुरोध गर्नुभएको छ ।

बस्नेतले उल्लेख गर्नुभएको छ, ‘ओली निवास निर्माणमा चन्दा उठाइँदैन। गुण्डुबासीहरूको साझा भावना र सम्मानका प्रतीकका रूपमा गुण्डुबासीकै हातबाट, गुण्डुबासीकै मनबाट। पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीज्यूको निमित्त बन्ने ओली निवास हाम्रो आफ्नै गाउँको पहल हो। कतिपय साथीहरुले भावनात्मक हिसाबले चन्दा दिन्छु भन्नुभएको छ। कतिपय मिडियाले चन्दा उठाउँदैछन् भनेर लेखेको रहेछ । चन्दा उठाउने कुनै योजना छैन। कसैसँग पनि चन्दा उठाइँदैन, यो हाम्रो आत्मीयता, स्नेह र गौरवको प्रतीक हो। साथ, स्नेह र शुभेच्छाका लागि सबैलाई हार्दिक धन्यवाद ।’
यसअघि बस्नेतले अध्यक्ष ओलीको बालकोटको निवास अवलोकनका क्रममा ओलीका लागि गुण्डुमै एउटा कुटी बनाइदिने घोषणा गर्नुभएको थियो ।
प्रकाशित मिति : October 25, 2025 at 9:07 pm









