ओमानलाई ३८ रनले पराजित गर्दै नेपाल शीर्ष स्थानमा
२९ असोज, काठमाडौं । नेपालले आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपरसिक्समा ओमानलाई ३८ रनले पराजित गरेको छ । जितका लागि १५२ रनको लक्ष्य पछ्याएको ओमान ११३ रनमै राेकियाे ।
ओमानका विनायक शुक्लाले सर्वाधिक ३२ रन बनाए । मोहम्मद नदीमले २५, ओपनर तथा कप्तान जतिन्दर सिंहले १४ र आर्यन बिष्टले ११ रन जोडे । ओमानलाई रोक्न नेपालका गुल्सन झाले तीन विकेट लिए । सोमपाल कामी र नन्दन यादवले दुई/दुई विकेट लिए भाने सन्दीप लामिछानेले एक विकेट लिए ।
त्यसअघि नेपालले ओमानलाई जितका लागि १५२ रनको लक्ष्य दिएको थियो । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५१ रनको योगफल बनाउन सफल भयो ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले ५१ बलको सामना गरेर महत्वपूर्ण अर्धशत प्रहार गरे । भुर्तेलले ७ चौका र एक छक्का सहित ६९ रनको योगदान दिए । त्यस्तै अर्का ओपनर आसिफ शेख २४ रनमा आउट हुँदा कप्तान रोहित पौडेलले एक रन मात्र बनाउन सके । उपकप्तान दीपेन्द्र सिंह ऐरि २ रनमा आउट हुँदा कुलश मल्लले ७ जोडे ।

त्यस्तै आदिल आलमले १६ र गुल्शन झाले १८ रनको योगदान गरे । नन्दन यादवले ९ रन बनाउँदा सोम्पाल कामी एक रनमा नटआउट रहे । ओमानका लागि नादिम खान एक्लैले चार विकेट लिए । चार ओभर बलिङ गरेका उनले २० रन दिए । नेपाल यस खेल अघि नै विश्वकपमा छनोट भइसकेको छ ।
जितसँगै सुपरसिक्सको शीर्ष स्थानमा उक्लिएको नेपालले आठ अंक जोडेको छ । तालिकाको दोस्रो स्थानमा आसिन ओमानको ६ अंक छ । नेपालले अब प्रतियोगिताको अन्तिम खेलमा शुक्रबार समोअविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार ००:१५












