२८ मंसिर २०८२, आईतवार | Sun Dec 14 2025

नेपाल टी–ट्वान्टी विश्वकप नजिक, कतारमाथि ५ रनको रोमाञ्चक जीत

२८ असोज, काठमाडौँ । ओमानमा जारी आइसिसी पुरुष ट्वान्टी-२० विश्वकप एसिया एण्ड इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले कतारलाई पाँच रनले पराजित गर्दै विजयी भएको छ ।

ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ-१ मा आज भएको खेलमा नेपालले कतारलाई पाँच रनले पराजित गर्दै सुपर सिक्समा लगातार दोस्रो जित दर्ता गराएको हो । आइतबार भएको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई एक रनले हराउँदै रोमाञ्चक जित हासिल गरेको थियो ।

dainiki.com

नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको कतार १९ दशमलव पाँच ओभरमा १४२ रनमा अलआउट भयो । कतारका लागि ओपनर इमाल लियानागेले ३५ बलमा सर्वाधिक ५५ रन बनाए । त्यस्तै जुबेर अलीले ५२ रन बनाए । नेपालका लागि सन्दीप लामिछानले पाँच विकेट लिए । त्यस्तै नन्दन यादवले दुई र दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर  १४७ रनको योगफल बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ५८ रनको योगदान दिए ।  त्यस्तै दीपेन्द्रसिंह ऐरीले २६ रन बनाए भने गुल्शन झाले १६ रन जोडे । यता कतारका लागि कप्तान मिर्जा बेग र डानियल लुइसले समान तीन÷तीन विकेट लिए भने मुहम्मद असिमले १ विकेट लिए ।

टी–२० विश्वकप एशिया छनोटको सुपर ६ मा कतारलाई हराएसँगै नेपाल टी–ट्वान्टी विश्वकप नजिक पुगेको छ । सुपर ६ मा नेपालको यो लगातार दोस्रो जित हो । पहिलो खेलमा नेपालले यूएईलाई १ रनले हराएको थियो । सुपर ६ मा नेपाल र ओमानको समान ६ अंक छ । नेपालले भोलि ओमानसँग खेल्नेछ । भोलिको खेल विश्वकप छनोटका लागि निर्णायक बन्नेछ । नेपालले अन्तिम खेल आउँदो शुक्रवार सामाओसँग खेल्नेछ ।

नेपालले समूह ‘बी’ को विजेताका रूपमा सुपर सिक्सको यात्रा तय गरेको हो । समूह चरणमा नेपालले कुवेत र जापानलाई हराएको थियो ।  तस्बिरः क्यान

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलवार ०५:५८