१० चैत्र २०८२, मंगलवार | Wed Mar 25 2026

उच्च मनोवल र संयमित भएर कारोबार गर्न लगानीकर्तालाई ब्रोकर्स एशोसिएशनको आग्रह

२७ असोज, काठमाडौं । स्टक ब्रोकर्स एशोसिएशन अफ नेपाल (एसबान)ले नेपालको पुँजी बजारको भविश्य दिगो र उज्वल रहेको भन्दै लगानीकर्तालाई उच्च मनोवलका साथ संयमित भएर कारोबार गर्न आग्रह गरेको छ ।  पछिल्लो समय अन्यौलतापूर्ण अवस्थामा लगानीकर्ताको मनोवल खस्किरहेको भन्दै अबका दिनमा उच्च मनोवलका साथ सेयर कारोबार गर्न ब्रोकर एशोसिएशनका अध्यक्ष सागर ढकालले आग्रह गर्नुभएकाे छ ।

अहिले नेप्से परिसूचक न्यूनतम विन्दुमा झरिसकेको र सरकारलगायत सरोकारवाला निकायले समेत पूँजी बजारको सुधार र विकासका लागि सक्दो प्रयास गरेका छन् । नयाँ सरकार गठनसँगै पूँजी बजारको सुधार र विकासका लागि पूँजी बजार सुधार सुझाव समिति बनाई पूँजी बजारको सुधार गर्नका सुझावहरु तुरुन्त कार्यान्वयनको चरणमा रहेको ढकालले बताउनुभयाे । नेपाल राष्ट्र बैंकबाट समेत आवश्यक कार्यान्वयन भइसकेको छ । नेपाल धितोपत्र बोर्डबाट समेत आफ्ना काम अघि बढाएको ढकालले बताए ।

‘बोर्डलगायत सरोकारवाला निकायले लगानीकर्ताहरुले माग गरे बमोजिमको तत्कालै आवश्यक सबै सुधारका कार्यहरु अगाडि बढाइसकेको छ भने ब्रोकर एशोसिएशनले पनि पुँजी बजार सुधारका लागि सरोकारवाला निकायलाई दीर्घकालिन सुधारका काम गर्न झक्झक्याउँदै आएको छ,’ ढकालले भन्नुभयाे । आन्दोलनले सरकारी सम्पत्ति र निजी क्षेत्रको व्यक्तिगत जनधन एवं व्यवसायमा क्षति पुर्याएपनि समग्र देशको अर्थतन्त्रका विभिन्न सूचकांकहरु, बैंक ब्याजदर, बैदेशिक मुद्राको बचतदर तथा मृल्यवृद्धिलगायतका तथ्यांकहरुका साथै वित्तीय तरलता समेत सृदृद्ध हुँदै गएकोले शेयर बजारमा सुधार आउनुको विकल्प नरहेको समेत उहाँले जानकारी दिनुभयाे ।

साथै, असोज २३ र २४ गते भएको युवा समूहहरु (जेन–जी) को आन्दोलन र सो आन्दोलन पश्चात देखिएको राजनीतिक अस्थिरताले नेपालको पूँजी बजारलाई प्रभावित बनाएपनि अन्तरिम सरकारद्वारा समग्र शान्ति सुरक्षाको प्रबन्धका साथै अर्थतन्त्रको स्थायित्व तथा दिगो विकासका लागि अल्पकालिन, मध्यकालिन तथा दिर्घकालिन नीतिहरु बनाई कार्यान्वयन गर्दै अघि बढेकाले अबका दिनमा लगानीहकर्ताहरु हतास हुन नपर्ने उहाँको भनाई छ ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार १४:४९