चौधरी ग्रुपले जेनजी आन्दोलनमा शहीद भएका परिवारका एक जनालाई रोजगारी दिने
२२ असाेज, काठमाडाैं । चौधरी ग्रुप (सीजी) ले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रत्येक शहीद परिवारका एक जनालाई रोजगारी दिने घोषणा गरेको छ । सीजीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत जेनजी आन्दोलनका प्रत्येक शहिद परिवारका एक सदस्यलाइ रोजगारी प्रदान गर्ने घोषणा गर्नुभएकाे हाे ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा ७२ जनाले सहादत प्राप्त गरेका थिए । आन्दोलनका क्रममा मृत्यु भएका व्यक्तिलाई सरकारले शहिद घोषणा गर्दै प्रतिपरिवार १० लाख रुपैयाँ दिने निर्णय गरेको थियो ।
‘जेनजी आन्दोलनका प्रत्येक शहीद परिवारका एक सदस्यलाई हामी रोजगारी प्रदान गर्ने छौं,’ सीजीका प्रबन्ध निर्देशक चौधरीले लेखेका छन्, ‘यो केवल हाम्रो वाचामात्र होइन, हाम्रो गहिरो कर्तव्य र श्रद्धा हो । हामी सँगै उभिने छौं, पुनर्निर्माण गर्ने छौं, आशा, सहानुभूति र सम्मान सहित यो देशको सुन्दर र उज्ज्वल भविष्य निर्माण गर्ने छौं ।’
प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार १५:३५












