ओली, देउवा, प्रचण्ड लगायतको बैंक खाता र जग्गाको विवरण पठाउन सम्पत्ति शुद्धीकरणको पत्राचार
२१ असोज, काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले शीर्ष नेताहरूको विवरण पठाउन विभिन्न निकायहरूलाई पत्राचार गरेको छ । विभागले कांग्रेसका सभापति शेरबहादुर देउवा, उहाँकी पत्नी तथा निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवा र पुत्र जयवीर देउवाका नाममा रहेका बैंक खाता, सेयर कारोबार, जग्गाको विवरण पठाउन नेपाल राष्ट्र बैंक, कम्पनी रजिस्ट्रारको कार्यालय, डिसिएस एन्ड क्लियरिङ लिमिटेड र भूमिसुधार तथा मालपोत विभागमा पत्राचार गरेको छ ।
त्यस्तैगरी, विभागले पूर्वप्रधानमन्त्री समेत रहनुभएका एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र निवर्तमान मन्त्री तथा कांग्रेस नेता दीपक खड्काका नाममा रहेका बैंक खाता, सेयर कारोबार, जग्गाको विवरण पठाउन भनेको छ ।
राष्ट्र बैंकमार्फत नेताहरूको विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेका खाता र मौज्दात विवरण प्राप्त भएपछि खाता रोक्का गर्नेसम्मको तयारी रहेको विभाग स्रोतले जनाएको छ । साथै, कम्पनी रजिस्ट्रारबाट नेताको संलग्नता रहेका विभिन्न कम्पनीबारे, सिडिएसबाट धितोपत्र कारोबार र मालपोतबाट घरजग्गाको विवरण मागिएको छ ।
प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलवार १४:५९












