२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

आज चैते दसैं , सक्तिपीठमा भक्तजनको घुइँचो


११ चैत, काठमाण्डौं । आज राष्ट्रिय चाड रामनवमी चैत्र शुक्ल पक्ष नवमीका दिन चैते दसैंको साथै मर्यादा पुरुषोत्तम भगवान् श्री रामचन्द्रको पुजा आराधना गरी मनाइँदै छ । सनातन धर्म मान्ने समाजमा राम नवमीको स्थान महत्वपूर्ण हुनुको साथै सरकारी विदा पनि दिने चलन रहेको छ ।
राम नवमीका अवसरमा नेपालको जनकपुर र भारतको अयोध्यामा रामलीला प्रदर्शन गरिन्छ । रामनवमीका दिन देवी पूजा गरी रामचन्द्रको पूजापाठ एवम् आराधना गरेमा ‘श्री’ प्राप्त हुने शास्त्रीय मान्यता छ ।

रामको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थिया भनिन्छ, गोस्वामी तुलसीदासले रामचरित्रमानसको रचना आरम्भ पनि यसै दिन गरेका थिए ।

त्रेता युगमा मर्यादा पुरुषोत्तमका रूपमा सुपरिचित राम सूर्यवंशी राजा दशरथले गरेको पुत्रेष्टि यज्ञको प्रसादस्वरूप दशरथकी जेठी रानी कौशल्यावतीको गर्भबाट रामको जन्म भएको थीयो । रामले मिथिलाका राजा जनकको प्रतिज्ञाअनुसार शिवधनु भाँचेर सीतालाई पत्नी रूपमा प्राप्त गरेका थिए । सीतालाई हिन्दूहरू लक्ष्मीको साक्षात् रूप मान्छन् भने रामलाई बिष्णुको साक्षात रुप मान्दछन् ।

रामलाई रघुनाथ, राघव, रघुपति, रामचन्द्र आदि थुप्रै नामले चिनिन्छ । मर्यादा पुरुष श्रीराम पितृ वचन पालन गर्नेहरूमध्ये एक अग्रणी हुन् ।

आफ्नो सुखको पछि नलाग्ने, मान्यजनको आदेश शिरोपर गर्ने, एक पत्नीव्रत पालन गर्ने तथा कर्तव्य निर्वाहका लागि कुनै सम्झौता नगर्नेजस्ता थुप्रै आदर्श गुण थिए राममा । यस्ता आदर्श गुणकै कारण राम भगवान्कै रूपमा पुजिएका हुन् ।

प्रकाशित मिति : ११ चैत्र २०७४, आईतवार ०८:४९