२१ मंसिर २०८२, आईतवार | Sun Dec 7 2025

रसुवामा बेपत्ता भएका चारमध्ये तीन जना एकै परिवारका, खोजीमा सशस्त्र परिचालन

१९ असोज, भक्तपुर । लाङटाङ घुम्न जाने क्रममा रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ को बेरिङ खोल्साले बगाएर बेपत्ता भएका भक्तपुरका चारमध्ये तीन जना एउटै परिवारको भएको खुल्न आएको छ ।

गोसाइँकुण्ड–५ स्थित ब्याम्बो होटलमा बास बसेर लाङटाङतर्फ जाने क्रममा शनिबार चार जनालाई बेरिङ खोल्साले बगाएर बेपत्ता बनाएको थियो । बेपत्ता हुनेहरुमा भक्तपुर नगरपालिका–१० क्वाठण्डौंँ बस्ने वर्ष २३ का रवि श्रेष्ठ, सूर्यविनायक नगरपालिका–४ दधिकोट बस्ने २३ वर्षीया संस्कृति श्रेष्ठ, २१ वर्षीय किशन श्रेष्ठ र २६ वर्र्षीया सनिता श्रेष्ठ रहेका छन् ।

संस्कृति, किशन र सनिता एउटै परिवारका रहेको सूर्यविनायक नगरपालिका–४ का वडाध्यक्ष लच्छुराम न्यौपानले जानकारी दिनुभयो । उनीहरु रामेछापबाट बसाइँसराइ गरेर दधिकोटमा बसोबास गर्दै आएको न्यौपानले बताउनुभयो । उनीहरुको अवस्था अझै अज्ञात रहेको छ । उनीहरुको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी प्रहरी निरीक्षक राजु शाहले जानकारी दिनुभयो ।

dainiki.com

बेपत्ताहरुको खोजीका लागि प्रहरी र नेपाली सेनाको टोली नुवाकोटको सिमानासम्म परिचालन गरिएको र नुवाकोट प्रहरीलाई पनि घटनाबारे जानकारी गराएर खोजी कार्यका लागि अनुरोध गरिएको उहाँले बताउनुभयो ।

यसअघि संस्कृति, किशन र सनिता मध्यपुरथिमिमा बस्ने भनि समाचार सार्वजनिक भएको थियो । लाङटाङ जाने क्रममा मध्यपुरथिमि शङ्खधरचोकबाट गाडी चढेकाले रोज कर्माचार्यले उनीहरु थिमिको भएको प्रहरीलाई जानकारी गराएका कारण उनीहरु थिमिको भएको समाचार सार्वजनिक भएको थियो ।

बेपत्ताको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल २० नम्बर गुल्म रसुवाबाट बिपद् ब्यबस्थापन तालिम प्राप्त सुरक्षा फौज टोली गोसाईकुण्ड गाउँ पालिका -५ स्याफ्रुबेशीस्थित भोटोकोसी नदी आसपास ईलाकामा र अस्थायी सुरक्षा बेश मैलुङ्गबाट र नेपाल प्रहरीको संयुक्त टोली मैलुङ्गस्थित त्रिशुली नदी आसपास ईलाकातर्फ परिचालित भएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आईतवार ११:२७